Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिकाद्वारा बाँदर धपाउने बन्दुक वितरण, प्रभावकारी भएको कृषकको भनाई

मकवानपुर थाहा नगरपालिकाले किसानहरुका लागि ५० प्रतिशत अनुदानमा बाँदर धपाउने यन्त्र वितरण शुरु गरेको छ । नगरपालिकाले प्रतिगोटा दुई हजार ५ सयका दरले खरिद गरी उक्त यन्त्र ल्याएको हो । ‘बाँदर भगाउने बन्दुक’ भनेर परिचित यो यन्त्र नगरपालिकाको कृषि शाखाले राष्ट्रिय आविष्कार केन्द्र, किर्तिपुरबाट खरिद गरी ल्याएको हो । 

नगर क्षेत्रमा कसिानहरुले लगाएको बाली बाँदरले सखाप पार्न थालेको किसानहरुले गुनासो गरेपछि नगरपालिकाले थाहा नगरपालिका आफैले बाँदर थपाउने यन्त्र खरिद गरी ल्याएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । बाँदर धपाउने यन्त्र बाँदर पीडित किसानहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरिने प्रमुख विष्टले बताए ।  राष्ट्रिय आविष्कार केन्द्र नेपालका प्रमुख महाविर पुनसँग सम्पर्क गरी नगरपालिकाको सिफारिसमा हाललाई ४० वटा यन्त्र खरिद गरी ल्याएको कृषि शाखाका प्रमुख सञ्जय तिवारीले बताए ।  

अहिले थाहा नगरपालिकाले वडा कार्यालयको सिफारिसमा बाँदपीडित किसानहरुका लागि यन्त्र वितरण गरिरहेको छ । थाहा नगरका प्रत्येक वडाका लागि तत्काल कम्तिमा ३ वटाका दरले वितरण गरिने कृषि शाखा प्रमुख तिवारीले बताए । बाँदर धपाउन प्रयोग गरिने यन्त्रमा केरा पकाउनका लागि प्रयोग गरिने केमिकल ( कारबाइट) राखेर पड्काउने र त्यसबाट ठूलो आवाज आउने हुँदा बाँदरहरु तुरुन्तै नफर्किने गरी भाग्ने प्राविधिकहरुको दाबी रहेको छ । 

यसैबीच थाहा नगरपालिका वडा नम्बर ३ का कृषक सुदर्शन विष्ट विष्टले यो यन्त्र प्रयोगमा ल्याइसकेका छन् । थाहा नगरपालिकाबाट पाएको उक्त यन्त्र पड्काउँदा बाँदर भागेको उनले प्रतितिक्रिया दिए । 

केही वर्षदेखि सयौंको संख्यामा रहेको बाँदरहरुको दर्जनभन्दा बढी समूहले थाहा नगरका कृषकहरुले लगाएको नगदे तथा अन्नबाली नष्ट गर्दै आएको छ ।

र, यो पनि पढ्नुहोस्:

थाहामा बाँदर आतंकले चिन्तित किसानहरु

आफैले पनि खरिद गरेर ल्याउन सकिन्छ

राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउन प्रयोग हुने उकरण परीक्षण गरेर उत्पादन गर्न थालेको छ । केही समय अगाडी स्याङ््जाका युवा भविश्वर कोइरालाले उपकरण निर्माण गरेर प्रयोगमा ल्याएका थिए । उनकै मद्दतमा राष्ट्रिय आविश्कार केन्द्रले उत्पादनलाई तीव्रता लिएको राष्ट्रिय आविष्कार केन्द्रका महाविर पुनले आफ्नो फेसबुकबाट जानकारी दिएका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘त्यसको लागी राष्ट्रिय आविष्कार केन्द्रमा एक वर्षदेखि विभिन्न उपायहरुको अनुसन्धान र परीक्षण भई रहेको थियो । तर हामीलेभन्दा छिटो र हामीले गर्न खोजेकोभन्दा एकदम सरल उपाय स्याङ्जा निबासी भाई भविश्वर कोइरालाले निकालेर परीक्षण र वितरण समेत गरेका रहेछन । भाई भविश्वर कोइरालाले यस्तो उपकरणको माग ज्यादै धेरै आउन थालेको र राष्ट्रिय आविष्कार केन्द्रले पनि सो उपकरण बनाएर वितरण गर्न मदत गर्नु पर्यो भनेर मलाई फोनमा भनेको हुनाले आविष्कार केन्द्रमा भाई कै सल्लाह सुझाब अनुसार सो उपकरण को परीक्षण गरेर उत्पादन भैरहेको छ । ’

यो उपकरण प्रयोग गर्न चाहने पीडित किसानहरुले आफ्नो वडा कार्यालयको वा गाऊँ वा नगरपालिकाको सिफारिस लिएर ९८४१५९२३६१ मा सम्पर्क गरेर प्राप्त गर्न सक्ने बताएका छन् ।

पुनले त्यसको मुल्य रु.२ हजार ५ सय पर्ने र उपकरण लिनका लागि आविष्कार केन्द्रमा गएर त्यसको कसरी प्रयोग गर्ने भन्ने कुराको सामान्य तालिम र जानकारी लिनु पर्ने बताएका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०