Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थप एकजना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

corona-death-1595481658.jpg

वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो एक बजेतिर गण्डकमा भर्ना भएका उनको मंगलबार अपरान्ह मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ ।

मृत्युपछि उनको स्वाब संकलन गरिएको थियो । नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको थियो । उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए । ‘शंकास्पद संक्रमितको रुपमा एडभान्स अस्पतालबाट गण्डक पठाइएको थियो । अक्सिजन दिइनै रहेका थियौं । उपचार चल्दै गर्दा उहाँको मृत्यु भयो,’ उनले भने, ‘मृत्युलगत्तै स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका थियौं, रिपोर्ट पोजेटिभ आएको छ ।’

मृतकमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको उनको भनाइ छ । ‘उनमा यसअघि छाती, मुटुको समस्या थिएन, ट्राभल हिष्ट्री पनि छैन,’ उनले भने, ‘कोरोनाकै कारण मृत्यु भएको हो । कोरोना कम्युनिटी लेभलमा गइसकेको छ ।’

वीरगञ्जको स्थिति एकदमै कठिन बन्दै गएकाले लकडाउनका लागि सिफारिस गरिएको उनले जानकारी दिए ।

एडभान्स अस्पतालमा मात्रै ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०