Monday, 17th August, 2026
वि.स.

तेलको ग्यालेनभित्र लागुऔषध ल्याउँदै गर्दा पक्राउ

l-1624428232.jpg

भारतको जोगवनीदेखि खाने तेलको ग्यालेनभित्र लागुऔषध राखी लिएर आउँदै गरेको अवस्थामा विराटनगरबाट एक युवा पक्राउ परेका छन् । 

जोगवनीबाट ग्यालेनभित्र लागुऔषध लिएर आउँदै गर्दा विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट सुनसरी चक्रघट्टीका ३२ वर्षीय राजकुमार मगर पक्राउ परेका हुन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार मगरलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।

मगरले बोकेको ग्यालेनभित्रबाट लागुऔषध एभिल ७७ एम्पुल, लुपिजेसिक ७५, डाइजेल्याप ७५ र फेनारगन ७८ एम्पुल बरामद भएको श्रेष्ठले बताए । पक्राउ परेका मगरविरुद्ध इलाका प्रहरी कार्यालय रानीले लागुऔषध ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउने तयारी थालेको छ । 

यो घटनाबाट भारतदेखि लागुऔषध ओसारपसार गर्ने अवैध धन्दामा संलग्न गिरोहले सुरक्षाकर्मीलाई छल्नका लागि विभिन्न उपाय अपनाउन थालेको पुष्टि हुन्छ । नेपाल–भारत सीमा क्षेत्रमा गरिएको सुरक्षा कडाइपछि कानुनद्वारा बर्जित लागुुऔषध ओसार्ने गिरोहले विभिन्न उपायको अवलम्बन गर्न थालेको एसपी श्रेष्ठले बताए । विगतदेखि नै भारतीय बजार जोगवनीबाट नेपालतर्फ लागुऔषधको अवैध ओसारपसार हुने गरेको छ । 

खाने तेलको ग्यालेनभित्र राखेरसमेत लागुऔषधको ओसारपसार हुने गरेको तथ्य फेला परेपछि नेपाल–भारत सीमा नाकामा थप कडाइ गरिएको एसपी श्रेष्ठको भनाइ छ । ग्यालेनमा तेल ल्याएजस्तो देखाएर लागुऔषध ल्याउने गरिएको पहिलो पटक फेला परेको प्रहरीको भनाइ छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif