Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

टिष्टुङका संक्रमित पुरुषका परिवार आइसोलेशनमाः यस्तो छ, प्रारम्भिक कन्ट्याक ट्रेसिङ

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ का एक पुरुषमा कोभिड–१९ संक्रमण पुष्टि भएसंगै परिवारका सबै सदस्यलाई पिसिआर परीक्षणका लागि हेटौंडा आइसोलेशन पठाइएको छ । ति पुरुषलाई ६ जेठमा संक्रमण पुष्टि भएको हो । थाहा नगरपालिकाका डाक्टरहरु, सुरक्षाकर्मी सबैको सहयोगमा उनीहरुलाई ६ जेठ राती ११ बजे परीक्षणका लागि हेटौंडा पठाइएको छ । 

पुरुषको घरमा रहेका दुई बालिका र एक महिलालाई पिसीआर परीक्षणका लागि राती नै हेटौंडा पठाइएको डाक्टर उदय रोकाले जानकारी दिए । कोरोना पुष्टि भएलगतै इलाका प्रहरी कार्यालय पालुङका प्रमुख तथा प्रहरी निरीक्षक विकास कुमार तामाङ, डाक्टर उदय रोका, डाक्टर सुबोध चापागाईलगायतको टोली देउराली क्यान्टीनडाँडा स्थित उनको घरमा पुगेका थिए । संक्रमित पुरुषको परिवारको ७ जेठमा पिसिआर हुने डाक्टर चापागाईले बताए । यद्यपि संक्रमतिका परिवारका अरु सदस्यहरुमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । 

काठमाण्डौंमा मार्बल ढुवानी गर्ने सवारी चालक पेशामा रहेका संक्रमित पुरुष लकडाउन शुरु भएलगतै ११ चैतमा घर फर्केका थिए । उनी २७ वैशाखमा पुनः काठमाण्डौं गएका हुन् । 

तरकारी गाडीमा संक्रमित पुरुष काठमाण्डौ पुगे

थाहानगर टिष्टुङका कोभिड–१९ संक्रमित पुरुष २७ वैशाखमा स्थानीय तरकारी ढुवानी गर्ने गाडीमा काठमाण्डौ गएका थिए । उनी काठमाण्डौ बाफलमा डेरामा बस्दै आएका थिए । उनी थाहा–११ कै स्थानीय चलक भएको गाडीमा काठमाण्डौं गएका हुन् ।

संक्रमित पुरुषले यात्रा गरेको गाडीले थाहा–१ स्थित ओखरबजार आसपासबाट तरकारी लोड गरेर गएको पारिवारिक स्रोतले बताएको छ । सरकारले औद्योगिक क्षेत्रमा सुरक्षा अपनाई संचालन गर्नेलगायतको निर्णय गरेर लकडाउन केही खुकुलो भएपछि काठमाण्डौं गएका थिए । 

संक्रमित परिवारको पसल छ

संक्रमित पुरुष काठमाण्डौमा सवारी चालक पेशा गर्थे । उनको गाउँमा सानो पसल पनि छ । पसलमा श्रीमती बस्थिन् । पसल सडक छेवैमा छ । 

देउराली क्पान्टिन डाँडामा पातलो बस्ती भएपनि परिवारका लागि थोरै आम्दानीको स्रोत त्यही पसलको भरथेग हो । किराना पसल त्रिभुवन राजपथसंगै जोडिएको शाखा सडकमा छ । 

किराना सामान र चिया समेत बेच्ने उक्त पसल लकडाउनकै बेला पनि आक्कल झुक्कल खुल्ने गरेको स्थानीयहरु बताउँछन् । 

‘पसलको सेवा प्रभावित क्षेत्र पातलो बस्ती भएकोले, गाउँ नै ट्रेसिङ गर्न पनि सकिने अवस्था छ, डाक्टर उदय रोकाले भने–हामी हेटौंडाको रिपोर्ट कुर्दै कन्ट्रयाक ट्रेसिङलाई अघि बढाइरहेका छौं ।’



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०