Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

झ्याप्प झ्याप्प बिजुली किन जान्छ ?

पछिल्लो समय बिजुली बत्ति झ्याप्प— झ्याप्प जान थालेसँगै आम मानिसमा लोडसेडिङको त्रास बढ्दै गएको छ । जाडो बढेसँगै विद्युत खपत् पनि बढेको छ । नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ भएको नभइ हिटरको प्रयोग बढेपछि पुरानो तारहरु पग्लन थालेकाले केही समय विद्युत अवरुद्ध भएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै शाक्यले नयाँ सिस्टमको हिटर पुरानो तारमा जडान हुँदा समस्या आएको बताए । यद्यपि, शाक्य गत वर्षको यही अवधिको तुलनामा यस वर्ष कम विद्युत काटिएको बताउँछन् ।

उनले भने, ‘लोडसेडिङ भएको छैन र हुँदैन पनि । अहिले जाडो बढेसँगै काठमाडौँमा माग बढेको छ । माग बढ्दै जान थालेपछि लोडसेडिङ भएको भन्ने लागेको हो तर विभिन्न फिडरमा मानिसहरुले हिटर थप्न थालेपछि समस्या आउन थालेको हो ।’

प्राधिकरणका अनुसार कमजोर भएका तारहरु डिसकनेक्ट भएका छन् । पुरानो सिस्टममा भएको तारमा नयाँ सिस्टमका हिटर जडान हुँदा तार पग्लने समस्या देखिएको छ । यो समस्या जहाँ–जहाँ छ सोही ठाउँमा मर्मत भइरहेको छ । ओभरलोड हुँदा समस्या आएको प्राधिकरणले जनाएको छ ।

गतवर्ष भन्दा यो वर्ष पिक समयमा ५० मेगावाट माग बढेको छ । गत वर्ष १४ सय ७ मेगावाट थियो भने यसवर्ष १४ सय ५७ मेगावाट नाघिसकेको छ । यो अझै बढ्दै जाने देखिएको  छ । यसको लागि लोड थेग्न आवश्यक पर्यो भने केही समय फिडर काट्न पनि सकिने शाक्यले भनेका छन् । शाक्यले समस्या देखिएको ठाउँमा तार पग्नलु अगावै मर्मत गर्न निर्देशन दिएको पनि बताए ।

मध्य मस्र्याङ्दीमा समस्या आउँदा देशभर बिजुली काटियो

सोमबार साँझ देशका विभिन्न ठाउँमा  विद्युत काटियो । मध्य मस्र्याङ्दी जलविद्युतको एउटा युनिटमा समस्या आउँदा देशभरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध बन्यो । नेपाल विद्युत प्राधिकरणले ढल्केबरदेखि चन्द्रनिगाहपुर १३२ केभीको प्रसारण लाइनमा ओभरलोड हुँदा समस्या आएको बताएको छ ।  भारतबाट बढी विद्युत प्रवाह हुँदा ओभरलोड परेको हो ।

शाक्यले भने, ‘नेपालको उत्पादन अर्पझट बढ्न गयो र नेपालतर्फको प्रणालीले धान्न सकेन ।  ढल्केबरबाट खिम्ती हुँदै काठमाडौँ आउने लाइन ओभरलोड भई रोकिन (ट्रिप) पुग्यो ।’

उनी भन्छन्,  ‘भारतबाट बढी विजुली लियौँ जसले मध्य मस्याङ्दीको एउटा युनिट बन्द भयो । यस्तो सयममा एक दुइवटा लोड काट्छौँ । काट्न नभ्याउँदा बत्ति गयो । ’

अब  समस्या आउन नदिन ट्रान्सफर्मर, कण्डक्टर वा अन्य जे जस्तो उपकरण परिवर्तन गरेर भएपनि प्रणालीलाई दिगो बनाउन प्रसारण निर्देशनालय तथा भार प्रेषण केन्द्रलाई निर्देशन दिएको शाक्यले बताए । आन्तरिक उत्पादन कम र भारतबाट आउने विद्युत बढी भएपछि प्राधिकरणलाई सन्तुलन मिलाउँन हम्मे हम्मे परेको छ ।

दुई महिनाका लागि सय मोगावाट क्षमता थप्न भारतसँग माग गरिने

भारतबाट आउने विजुली (ढल्केबर मुजफ्फरपुर) २५० मेगावाट  क्षमताको छ भने त्यसलाई ३५० मेगावाट पुर्याइदिन नेपाल विद्युत प्राधिकरणले भारतसँग माग गर्ने भएको छ । जाडो महिनाका लागि माग धान्न आगामी शुक्रबार भारतलाई अनुरोध गरिने शाक्यले रातोपाटीलाई जानकारी दिए ।

२ महिनाका लागि सय मेगावाट बढाइदिन नेपालले अनुरोध गर्नेछ  । ‘यति गरिसकेपछि यो जाडो महिनामा समस्या हुँदैन,’ उनले भने । शुक्रबारसम्म ट्रान्सर्फमरमर्मत् गरिसक्ने र सोही दिन भारतलाइ अनुरोध गर्ने तयारीमा प्राधिकरण छ । लोडसेडिङ हटाउन भारतबाट आयात हुने बिजुलीको भुमिका रहँदै आएको छ ।

प्राधिकरणका अनुसार ११ हजार ७३ मेगावाट/आवर विद्युत आयातित छ । उर्जाको माग २५ हजार १ सय ६३ मेगावाट/आवर छ र जसमा पिक आवरमा १४ सय ५७ मेगावाट माग छ ।  प्राधिकरणको ७ हजार ४५ मेगावाट/आवर र निजी उत्पादकको ७ हजार ४५ मेगावाट/आवर विद्युत छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०