Wednesday, 1st July, 2026
वि.स.

जेठाजुकाे घर खरानी पारिन् हिरादेवीले

element-fire-white-backgr-1508324234.jpg

‘रिस खा आफू, बुद्धि खा अरु’ भनेजस्तै श्रीमान्–श्रीमतीवीचको झगडा पर्दा थाहा नगरपालिका–७, आग्रामा एक महिलाले जेठाजुको घर जलाएर ध्वस्त बनाइदिएकी छिन् । घटनामा नगद,गरगहना र किराना पसलसहित ५८ लाख ५० हजार रुपैया बराबरको क्षति भएको छ ।   

मंगलबार नै आग्रा आइपुगेकी हिरादेवी शाहीले आफू आएको केहीबेरमै यस्तो घटना घटाएकी हुन् । ‘घरमा आउनेवित्तिकै श्रीमान्सँग झगडा प¥यो, विस्तरा(ओछ्यान)मा थिएँ, रिसमा आफै मर्न भनेर तकियाको कपडा च्यातेर सलाई कोरेर सल्काएँँ,’ उनले बताइन् । त्यहीँबाट आगो सल्किएर विहान साँढे एघार बजेतिर घर ध्वस्त भयो । 

थाहा नगरपालिकाको वडा नंं ७ को वडा कार्यालयसँगै किराना पसल संचालन  गर्दै आएका मिलन तितुङको पसलसहितको घर जलेर नष्ट भएको हो । आगलागीबाट २० लाख नगद, ५ तोला सुन, किराना सामान, टिभी, मोबाइल, फर्निचर, भाँडाकुँडा, अन्नलगायत सबै सामग्री जलेर नष्ट भएको छ । मानवीय क्षति भने भएको छैन । आगो लगाउने हिरादेवीको हात पोलेको छ ।               

घटनापछि ४८ वर्षीया हिरादेवीलाई  प्रहरीले नियन्त्रणमा लिएको छ . श्रीमान्सँगको झगडापछि आफूले रिस थाम्न नसकेर मर्ने उद्धेश्यले आगो सल्काएको उनले प्रहरीलाई बयान दिएकी छन् ।             

अग्नि पीडित मिलनका भाई प्रदिप दुई दशकदेखि इण्डियातिर बस्दै आएका थिए । इण्डियामा नै रहँदा प्रदिप र हिरादेवीको १० वर्षअघि विवाह भएको उनीहरुले बताएका छन् । विवाह भएपछि हिरादेवी एक–दुई पटक श्रीमान्को घरगाउँ आएकी थिइन् । यसपटक पनि इण्डियाबाट दशैं मान्न भनेर हिँडेका यी दुईमध्ये प्रदिप दशैंको टीकाको अघिल्लो दिन घर आइपुगेका थिए भने उनकी श्रीमती हिरादेवी बुटवल गएकी थिइन् ।       

बुटवल घर भएकी हिरादेवीले पहिलेको श्रीमान्लाई छोडेर प्रदिपसँग विवाह गरेकी थिइन् । ‘इण्डियाको हिमाञ्चलमा हाम्रो फास्टफुड पसल छ । उतै बस्दा हाम्रो विवाह भयो ।’ हिरादेवीले बनिन् ।          

मंगलबार बेलुका प्रहरीमै रहेकी हिरादेवीले जेठाजुको  घर जलाएकोमा पश्चाताप गर्दै क्षतिपूर्ति दिन आफू तयार भएको बताउँदै थिइन् ।           घटनासँगै थाहा नगरपालिका–७का वडा अध्यक्ष  सोनामसिं मोक्तान, वडा सचिब चन्द्रबहादुर थिङलगायत सदस्यहरु घटनास्थल पुगेका थिए । पसलमा एक्कासी आगलागी भएको देखेपछि आइपुगेका छरछिमेकीहरुको आगो नियन्त्रण गर्ने प्रयास सफल हुन सकेन । ‘धन्न बच्चाहरुचाहिँ  निकाल्न भ्याइयो’ मिलनले भने ।             

श्रीमतीसहित एक छोरा र दुई छोरी रहेका मिलनको परिवार घरविहिन बनेको छ । घर नष्ट भएपछि अहिले परिवार कहाँ बसेको छ नि भन्ने प्रश्नमा पालुङ आइपुगेका मिलनले भने, ‘थाहा छैन, भएको मोबाइल आगलागीमा परेर जल्यो, श्रीमतीसँग फोन सम्पर्क हुन सकेको छैन ।