Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

क्वारेन्टिन संचालनका लागि पानोरमा रिसोर्टले १० वटा कोठा दिने

Everest-Panorama-Resort-1597487173.jpg

थाहानगरको दामनमा रहेको पानोरमा रिसोर्टले नगरपालिकाले संचालन गरेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण अभियानमा रिसोर्टको भवन प्रयोग गर्न दिने बताएको छ । रिसोर्टले आफ्ना सुविधा सम्पन्न १० वटा कोठा आइसोलेशन वा क्वारेन्टिन जे मा प्रयोग हुन्छ त्यसका लागि दिन आफू तयार रहेको रिसोट संचालक रविचन्द्र हमालले जानकारी दिए । थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको विशेष उपस्थितीमा ३१ साउनमा रिसोर्ट परिसरमा बसेको बैठकमा संचालक हमालले भने,–‘विश्व विपद्मा छ, यसका नियन्त्रणका लागि म सहयोग गर्न तयार छु, थाहा नगरपालिकाको यो अभियानमा कुनै न कुनै हिसाबले सहयोग गर्न हिजो, आज र भोलि सँधै तत्पर छु।’ हमालले रिसोर्टको १० वटा कोठा तत्काल नगरपालिकालाई प्रयोग गर्न दिने सहमती जनाएका छन् । 

थाहा नगरपालिका क्षेत्रमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रिसोर्टले कोठा प्रयोग गर्न दिन गरेको सहमती प्रति नगर प्रमुख लवशेर विष्टले आभार व्यक्त गरे । नगरले थालेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण अभियानका लागि रिसोर्टले दिएको योगदान ठूलो सहयोग भएको भन्दै प्रमुख विष्टले प्रशंसा गरे । उनले भने–‘हामी आवश्यकताको आधारमा रिसोर्टको कोठा प्रयोग गर्नेछौं ।’ रिसोर्टले दिने भनिएको कोठाहरु कोभिड–१९ को क्वारेन्टिन मापदण्ड अनुसार के कामका लागि प्रयोग गर्न सकिन्छ सो बमोजिम प्रयोगमा ल्याइने नगर प्रमुख लवशेर विष्टले बताए । यसका लागि डाक्टरसहित स्वास्थ्यकर्मीले निरीक्षण गर्ने उनको भनाइ छ । महामारी नियन्त्रण गर्न सबैको उतिकै योगदान हुनुपर्ने बताउँदै थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीले अन्य होटलहरुले पनि सहयोग गर्न तयार हुने बताए । उनले महामारीको यो बेलामा सबैले एकले अर्कोलाई सहयोग गर्ने बेला आएकोले नगरपालिकाले थालेको अभियानमा सबै होटल व्यवशायी सहयोग गर्न तयार रहेको धारणा राखे । 

बैठकमा थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपकसिं लामा, थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, डाक्टर सुबोध चापागाइ, डाक्टर रिकेश कार्की, स्थानीय समाजसेवी बिनोद लामा, होटल एशोशिएशनका प्रतिनीधिहरु लगायतकाको उपस्थिती रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०