Sunday, 23rd August, 2026
वि.स.

थाहानगरमा लाग्ने तीनवर्षे बाराही मेला रोकियो

मकवानपुरको थाहा नगरपालिका ६ टिष्टुङमा हरेक तीनतीन वर्षमा मनाइने बज्रवाराही माईको मेला यो वर्ष रोकिएको छ । यसवर्षको जात्रा २७ देखि २९ वैशाखसम्म परेको थियो । 

विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि भिडभाग नगर्ने निर्णयसहित मेला स्थगित गरिएको हो । प्रत्येक तीनवर्षमा चण्डी पुर्णिमाको नजिकको शनीबार मनाइने मेला अर्को वर्ष यहि तीथिमा मनाउने गरी स्थगित गरिएको बज्रवाराही गुठी व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । 

मेला संचालनको विषयमा ५ वैशाखमा वडा अध्यक्ष, धामी, पुजारी लगायत जात्रासंग संबन्धित सबै रकमीको उपस्थितिमा भएको छलफबाट जात्रा अर्को वर्ष संचालन गर्ने निर्णय भएको वडा अध्यक्ष शशीधर सुवेदीले जानकारी दिए । जात्रा स्थगित भएको वडा कार्यालयले सूचना प्रकाशन गरेको छ । सबैतिर कोरोना भाइरसको त्रास भएको र सरकारले लकडाउन घोषणा गरेकोले यसपटक जात्रा नमनाउने निर्णय गरिएको स्थानीय प्रमोद जोशीले बताए । बज्रवाराही जात्रा पहिलोपटक स्थगित भएको हो । 

बाराही जात्रामा स्थानीय समुदायले बाजागाजा, भेषभुषाको साथै रथारोहण गर्ने गर्दछन् । तीन दिनसम्म लाग्ने यो मेलामा पहिलो दिन रथलाई मन्दिरमा लगिन्छ भने दोस्रो दिन मन्दिरमै पूजापाठ गरिन्छ र तेस्रो दिन रथलाई फर्काएर मेला समापन गर्ने चलन रहेको छ । यहाँको बज्रवाराही माईलाई अन्यत्र भएका बज्रवाराहीको आमा भन्ने गरिएको मान्यता छ । जात्रा गणेश, कुमारी, बाराही, इन्द्रायणी र भैरवको संयुक्त पुजा गरी मनाइन्छ ।

सरकारी पुजा नरोकिने

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग पु¥याउँदै जात्रा स्थगित भएपनि सरकारी पुजा संचलन हुने बज्रवाराही गुठी व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताएका छन् । मेला लाग्ने दिन वैशाख २७, २८ र २९ गते पुजारीहरुबाट सरकारी पुजाको साथै क्षमा पुजा गरिने श्रेष्ठले बताए । 

करिब तीनहजार बढि बली चढाइ संचालन हुने जात्रामा एउटा मात्र बली दिई क्षमा पुजा गरिने समितिले जनाएको छ । सरकारी पुजा र क्षमा पुजामा भने पुजारी र रकमीहरुको मात्र सहभागितामा संचालन गरिने भएको छ । जात्रामा गणेश, कुमारी, बाराही, इन्द्रायणी र भैरवको पुजा गर्ने पुजारी बाहेकका अन्य टोलीका सदस्यहरुलाई रकमी भनिन्छ । 

बाराहीको जात्रा आउनु तीन महिना अघि नै देउताको नाममा बलीका लागि दुई वटा राँगा छोड्ने चलन भए अनुसार यसपालि पनि छोडिएको उक्त, रागालाई अर्को वर्षसम्म पाल्ने र पुजामा बली दिने निर्णय भएको छ । 

वडा कार्यालयबाट प्रकाशित सूचना 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०