Wednesday, 19th August, 2026
वि.स.

कोभिड–१९ को उपचारमा अर्को भ्याक्सिनको परीक्षण पनि सफल, देखियो ९५ प्रतिशत प्रभावकारी

vc-1605539476.jpg

कोरोनाको उपचारका लागि विकास गरिएको अर्को भ्याक्सिनको परीक्षण पनि सफल भएको छ। अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको सो भ्याक्सिन कोभिड–१९ को उपचारमा ९५ प्रतिशत प्रभावकारी सावित भएको सो कम्पनीले जनाएको छ।

केहि दिनपहिले फाइजर नामक कम्पनीले विकास गरेको भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी ठानिएपछि संसारभर त्यसलाई कोरोना उपचारमा एउटा ठूलो सफलताको रुपमा लिइएको थियो। त्यसलगत्तै मोडर्नाले विकास गरेको भ्याक्सिन समेत झनै सफल देखिएपछि यसलाई विश्वव्यापी कोरोना महामारी नियन्त्रणमा अर्को सफलताको रुपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रस्तुत गरेका छन्।

यी दुवै कम्पनीले अत्याधुनिक प्रबिधि र नवीन अवधारणाको प्रयोग गरी यी भ्याक्सिनको विकास गरेको ती सञ्चारमाध्यमहरुले जनाएका छन्। यसको नतिजा आएको दिनलाई मोडर्ना कम्पनीले एक ‘विशेष दिन’ को रुपमा लिँदै अब यसको स्वीकृतिका लागि निवेदन पेस गर्ने जनाएको छ।

स्वीकृति प्राप्त गरी आगामी केहि हप्ताभित्रै यसको प्रयोग सुरु गर्ने योजना रहेको सो कम्पनीले जनाएको छ।  सो कम्पनीले अमेरिकामा ३० हजार मानिसमाथि यसको परीक्षण गरेको थियो। तीमध्ये आधालाई चार हप्ताको अन्तरमा दुई डोज दिइएको थियो।

कम्पनीका अनुसार सो भ्याक्सिनले ९४.५ प्रतिशतलाई कोभिड–१९ बाट बचाएको नतिजा प्राप्त भएकाे छ। ‘समग्रमा यसको प्रभावकारिता निकै राम्रो छ...,’ मोडर्ना कम्पनीका प्रमुख मेडिकल अधिकृत ताल ज्याक्सले बताएका छन्। तर यसले प्रदान गर्ने रोग प्रतिरोधात्मक क्षमता कति समयसम्म प्रभावकारी रहन्छ भन्ने कुरा भने अझै किटानका साथ भन्न नसकिने बताइएको छ।

यो सुई लगाएपछि कतिपय बिरामीमा केहि समय थकान महशुस हुने, टाउको दुख्ने तथा जिउ दुख्ने जस्ता लक्षण देखिएको थियो।

‘यस्तो खालको भ्याक्सिन लगाउँदा यस प्रकारको असर देखिनु अनुमानित कुरा नै हो,’ इम्पेरियल कलेज लन्डनका प्रोफेसर पिटर ओपेनसाले बताए।

-एजेन्सी



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif