Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कैलाश गाउँपालिकाको १ नम्बर वडाका गाउँहरु झिलिमिली

Kailash-1601650081.jpg

कैलाश गाउँपालिका १ जलुके निवासी वाङ्गेल लामा आफ्नो गाउँमा बिजुली बत्ती बलेको देख्दा दंग छन् । जिन्दगीभर नै अन्धकारमा जीविका चलाउँदै आएका जलुके गाउँका बासिन्दाहरु बिजुली बत्तीले गाउँ नै झिलिमिली हुँदा खुसी भएका हुन् । ४१ बर्षिय लामा बताउँछन् -"म जन्मदाँ देखि नै बिजुली आएकै थिएन । पहिले पहिले टुकी बत्ती, मैनबत्ती, दियालो बाल्थ्यौं । अली पछि भएपछि ब्याट्री राखेर बाल्ने बत्ती बालेका थियौं । सोलार पनि धेरै बाल्यौं । बल्ल बिजुली देख्न पायौं ।  एकदमै रमाइलो लागेको छ ।" उनी मात्रै होइन उक्त गाउँको सबै जना खुसी भएको लामाको भनाइ छ ।

५२ बर्षिय निरमाया सिन्जाली मगरले गाउँमा बत्ती बलेको दिन आफ्नो आँखाबाट आँसु नै खसेको अनुभव सुनाइन् । यो आँसु पिडाको नभएर हर्षको भएको उनको भनाइ छ । सोलारबाट जीवन चलाउँन बाध्य रहेकी उनलाई बिजुली बत्ती भनेपछी भगवान सरह नै भएको मगरले बताउँछिन् । उनले भनिन् -"घाम लागेको दिन मात्रै रातमा उज्यालो बाल्न पाइन्थ्यो । सोलार घामबाट मात्रै चार्ज हुन्थ्यो । पानी परेको बेलामा चार्ज नहुनाले राती अन्धकारमै बस्नु पथ्र्यो । अहिले साह्रै रमाइलो लागेको छ ।"

विकट गाउँको कारण अन्धकारमै जीवन बिताइरहन बाध्य रहेको स्थानियहरुलाई खुसीको सीमा नै नाघेको बताउँछन् । गाउँमा बिजुलीको लाइन लानको लागी दिनरात नभनी अथक प्रयास गर्दै आइरहेका थिए । २०७२/२०७३ सालदेखि नै बिजुलीको लाइन बिस्तार गर्नको प्रयास गरिरहेकोमा बल्ल बिजुली बलेकोमा स्थानिय बासिन्दाहरु खुसी भएका हुन् । मकवानपुरको कैलाश गाउँपालिकाका बासिन्दाहरुले बिजुली बत्तीको आभास गर्न पाएका छन् । कैलाश गाउँपालिका वडा नम्बर १ का ५५ घरधुरीमा बिजुली बत्ती पुगेको छ ।

स्थानिय बासिन्दाको करिब ४ बर्षको निरन्तर प्रयासको कारण जलुके गाउँमा बत्ती बाल्न सफल भएको स्थानियहरु बताउँछन् । स्थानियले प्रत्येक घरधुरी ५ हजारको दरले ५५ घरबाट २ लाख ७५ हजार रकम उठाएर बिजुली बाल्नको लागी खर्च गरेका छन् । आफ्नो गाउँ उज्यालो बनाउँन यो केही नभएको र श्रमदान पनि उत्तिकै गरिएको स्थानियहरु बताउँछन् ।  उक्त गाउँमा बिजुली बत्ती बाल्नको लागी एकदमै लागीपरेका कुमार योञ्जनले अथक प्रयासको कारण बिजुली बत्ती बाल्न सफल भएको बताए ।

अझै पनि १ नम्बर वडाकै खोलाखर्क, फुलढुङ्गा, नौलेटोल, त्यस्तै २ नम्बर वडाको अधिकांश गाउँमा बिजुली बत्ती पुग्न सकेको छैन योञ्जनले बताए । गाउँमा बिजुली बलेपछी हर्षले खसी काटेर सबैले रमाइलो समेत गरेका थिए । ४/५ बर्षको प्रतिक्षामा बल्ल बिजुली आउँदा एकदमै खुसी लागेको स्थानियहरु बताउँछन् । पालुङ वितरण केन्द्रबाट ११ हजार भोल्टको लाइन लगिएको १ नम्बर वडाको वडाअध्यक्ष पेमा योञ्जनले जानकारी दिए । सबै तिरबाट १२ लाखको लागतमा बिजुली बाल्न सफल भएको हो ।