Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एसिड छ्यापे २० वर्ष कैद र १० लाखसम्म जरिवाना

acide-1601027868.jpg

 एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित भएको छ । एसिडको दुरुपयोग र यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुङ्बाहाम्फेले अध्यादेश शुक्रबार नै राष्ट्रपतिबाट जारी भई राजपत्रमा प्रकाशित गरिने जानकारी दिइन् । ‘एसिड अपराधविरुद्ध कठोर कानुनी व्यवस्थासहितको अध्यादेश बिहीबार मन्त्रिपरिषद् बैठकले पारित गरेको छ,’ उनले भनिन्, ‘अध्यादेश आजै राष्ट्रपतिमार्फत् प्रमाणीकरण भई राजपत्रमा प्रकाशित हुन्छ ।’

मुलुकी अपराध संहिता ऐन–२०७४ अनुसार एसिड प्रहारबाट कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग भए अधिकतम ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै एसिड प्रहारसम्बन्धी कसुरमा अभियुक्तविरुद्ध ज्यान मार्ने उद्योगमा पनि सजाय हुन सक्ने व्यवस्था छ । ज्यान मार्ने उद्योगमा अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यी दुवै कानुनी प्रावधान कमजोर भएको भन्दै सरकारले अध्यादेशमार्फत् एसिडसम्बन्धी छुट्टै कानुन बनाउन लागेको हो ।

नयाँ कानुनअनुसार एसिड अपराधमा संलग्नलाई कसुरको नेगेटिभ सूचीमा राखेर सजाय माफी मिनाहा नहुने व्यवस्था गरिएको छ ।

नयाँ कानुनमा आक्रमणकारीको सम्पत्ति रोक्का राखेर पीडितलाई क्षतिपूर्ति भराउने प्रावधान पनि छ । एसिड बिक्रीवितरणमा जिल्ला प्रशासनबाट लाइसेन्स लिनुपर्नेलगायतका व्यवस्था गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २५ गते सरोकारवाला निकाय, एसिड पीडित, अभियन्तासँग एसिड अपराधविरुद्ध कठोर कानुन बनाउने प्रतिबद्धता जनाएका थिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०