Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

उर्लेनीको जङ्गलमा सयौं गाडी अलपत्र(अपडेट)
त्रिभुवन राजपथ अवरुद्ध

शनिबार राती परेको भीषण वर्षाका कारण मुलुकको जेठो त्रिभुवन राजपथको हेटौंडा–पालुङ खण्डमा दर्जनौं स्थानमा पहिरो गएको छ । पहिरोले सडक जाम भएपछि सडक विभागको प्रयासका बावजुद  सैयौं ठूला गाडीहरु राजपथको महाभीर–बाघमारा खण्डको जङ्गलमा आइतबार राती यो समाचार तयार पार्दासम्म अलपत्र परेका छन् । 
राजपथ अन्तर्गतको बाह्रघुम्ती, आधामार, अघोर, महाभीर, मानेभन्ज्याङ लगायतका स्थानमा पहिरो गएर अवरुद्ध भएको सडक डोजरको सहायताले खुलाए पनि बाघमारा–महाभीर खण्डको उर्लेनी भन्ने स्थानमा दुई सयमिटर माथीको पहाडबाट झरेको पहिरो र ढुंगाले सडक पुरिँदा गाडी तथा यात्रुहरु अलपत्र परेका हुन् । 
शनिबार रातीको पहिरोले राजपथको दर्जैनौं स्थानमा पहिरो गई  सवारी अवरुद्ध भएको खबर पाएपछि सडक विभाग हेटौंडाले यातायात व्यवस्था सुचारु गर्न पालुङ र हेटौैंडाबाट डोजरसहित कर्मचारीहरु परिचालन गरेको थियो । पालुङबाट गएको डोजरले घन्टौं लगाएर अघोर, मानेभन्ज्याङ, महाभीर लगायतको स्थानमा सडकमा थुप्रिएको पहिरो पन्छाउँदै गयो भने हेटौंडाबाट आएको डोजरले बाघमारा, बाह्रघुम्ती, आधामार लगायतको पहिरो हटाउँदै आयो । तर, महाभीर नजिकैको उर्लेनीभन्ने स्थानमा पहिरो गएर सडकमै अड्एिको अजङको चट्टान हटाउन सकेन ।
दुइवटै डोजरले ५ घण्टा लगातार प्रयास गर्दा पनि सडक नै छोपिने गरी अडिएको चट्टान हटाउन नसक्दा ठूला गाडीहरुलाई आउजाउमा सहज बनाउन नसकिएको प्रहरी चौकी भैंसेका प्रहरी सहायक निरीक्षक(असई) लक्ष्मण गोलेले बताए । सडक विभागको कर्मचारीहरु सहित प्रहरीको तर्फबाट असई गोलेको नेतृत्वमा प्रहरी टोली सडक खुलाउने कार्यमा खटिएको थियो । 
दुई सय मिटर माथिबाट आएको पहिरोको कारण सकडमा जम्मा भएको कमजोर भाग दुईवटा डोजरको सहायताले हटाएर सुमो, माइक्रोजस्ता साना गाडीहरुको लागि बाटो खुलाउन सफल भए पनि भयानक ढुंगा हटाउन नसक्दा ठूला गाडीहरु ‘पास’ हुन समस्या भएको गोलेले बताए । 
सडक विभागको लामो प्रयासपछि उर्लेनीमा साना गाडीहरुका लागि बाटो खुले पनि सडक जाममा परेका सैयौं गाडीहरु सुचारु गर्न ट्राफिक समस्या भएका कारण साना गाडी तथा मोटरसाइकलका लागि समेत समस्या भएको छ । सानो गाडीमात्र छिर्ने बाटो खु्लाइएको र उक्त स्थानमा अत्यन्त चिप्लो भएकोले साना गाडीहरुलाई समेत समस्या भएको र ट्राफिक समस्याका कारण साना गाडीहरु निस्किन समस्या भएको मोटरसाइकल चालक कृष्णकाजी प्रधानले बताए । ‘म बल्ल बल्ल उम्किएँ, यस्तै हो भने साना गाडीहरुलाई पनि समस्या छ,’ उनले भने । सडकमा ५०० भन्दा बढी गाडीहरु अलपत्र परेको उनले जानकारी दिए । 
पहिरोका कारण टाटा सुमो चल्ने काठमाण्डौं–सिस्नेरी–हेटौंडा सडक र मुलुककै सबैभन्दा धेरै गाडी चल्ने नारायणगढ–मुग्लिङ खण्ड अवरुद्ध भएपछि बैकल्पिक मार्ग(बाइरोड)को रुपमा साना तथा ठूला गाडीहरु त्रिभुवन राजपथ भएर आउजाउ गर्ने क्रममा अलपत्र परेका हुन् । 
शनिबार राती त्रिभुवन राजपथको बाघझोरामा बाढी आउनुका साथै अघोर, महाभीर, उर्लेनी, आधामार, तीलटार, बाघमारा लगायतका स्थानमा पहिरो गएर सडक अवरुद्ध भएपछि सो रुटमा चलिरहेका गाडीहरु बीचैमा रोकिएका थिए । रोकिएको चौबीस घण्टा वित्दा पनि सडक नखुलेपछि सवारी चालक, सहयोगी तथा यात्रुहरु भोक र तिर्खाले छट्पटिन थालेका छन् । 
बीरगन्जबाट काठमाण्डौंका लागि प्लास्टिकको सामान लिएर आएको गाडीचालक शंकरमान रन्जितकारले भने, ‘तल्लोबाटो(पृथ्वी राजमार्ग)मा पहिरो गएको छ भनेर यो बाटो आइयो, झन अलपत्र परियो ।’ 
यात्रुहरु जंगलको बीचमा परे पनि झण्डै ७ किलोमिटर पर बाघमारा बजारका केही व्यापारीले पहिरो स्थानमै लगेर बिस्कुट, चाउचाउ, पानी लगायत खाद्य सामग्रीहरु बेचिरहेका छन् । मोटरसाइकलमा ओसारेर विहानै देखि खाद्य सामग्री विक्री गरिरहेको बाघमाराका किराना व्यवसायी सुदर्शन पुडासैनीले बताए ।
२०५० सालपछि त्रिभुवन राजपथमा यति धेरै स्थानमा पहिरो गएको यो पहिलो हो । राजपथ माथिको पहाडबाट पहिरो झरेर पुरिएको सडक खुलाइए पनि केही स्थानमा सडक नै भासिएर र चोइटिएर गएकोले थप चुनौति देखिएको छ । 
राजपथको १२ घुम्तीमा चौडापट्टी सडकको एक तिहाइ भाग नै बगेर गएको छ भने बाघमारामा त्यति नै भाग खसेको छ । बाघमारामा खतराको संकेत गर्दै सडक विभागले झण्डा गाडेको छ । 
१२ बैशाख २०७२को भूकम्प पछि थिलथिलो बनेको त्रिभुभवन राजपथ साउनको अन्तिम साताको भारी वर्षाले झनै कमजोर भएको छ । सरकारले त्रिभुवन राजपथमा  १० चक्के र सो भन्दा माथिको गाडी चलाउन बन्द गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन नसक्दा उत्तिकै समस्या भएको छ । 


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०