Thursday, 25th June, 2026
वि.स.

इलाका गोष्ठीमा गाउँपालिका केन्द्र जाने बाटोमा चासो

नयाँ संरचना अनुसार गठित स्थानीय निकाय र त्यसका केन्द्रहरुका बारेमा इलाका योजना तर्जुमा गोष्ठीहरुमा चासो व्यक्त हुन थालेको छ । 

पुरानो संरचना अन्तर्गत मकवानपुरको इलाका नं ५ मा आयोजित गोष्ठीमा सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । इलाका नं ५ अन्तर्गत काँकडा गाविसको कार्यालय शिलाधुनीमा आयोजित साबिकको राक्सिराङ र काँकडा गाविसका राजनीतिक नेतृत्व तथा उपभोक्ताहरु सम्मिलित गोष्ठीमा प्रस्तावित राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरसम्म पुग्ने बाटोको बारेमा चिन्ता ब्यक्त भएको हो । ‘काँकडाबाट चैनपुर पुग्ने सहज बाटो निर्माण जरुरी छ’, स्थानीय अगुवा कृष्णलाल तामाङले भने–‘सहज रुपमा गाउँपालिका केन्द्र पुग्ने गरी बाटो निर्माण आजको आबश्यकता हो ।’

गोष्ठीमा गाविसका सचिव चुननारायण श्रेष्ठले गाउँपालिका रहने स्थान, जग्गा, भवन लगायतका बिषयहरुमा पनि छलफल हुनुपर्नेमा ध्यानाकर्षण गराउँदै दुवै गाविसका परिषदबाट सिफारिस गरिएका योजनाहरु प्रस्तुत गरेका थिए । 

दुवै गाविसमा अधिकाँश क्षेत्रमा बाटो, बिजुली, खानेपानी लगायतका पूर्वाधार निर्माणका लागि जिल्ला परिषदमा योजना सिफारिस गर्नेगरी योजनाहरु तर्जुमा गरिएको छ । गोष्ठीमा विकास निर्माण तथा अन्य सरकारी सेवाहरुको सुस्त अबस्थाबारे सरोकारवालालाई ध्यानाकर्षण गराइएको थियो । 

कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सोमनाथ तिमल्सिना, नेपाली काँग्रेसका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष विनोद रिजाल, जिल्ला कृषि विकास कार्यालयका रचना देव, महिला तथा बालबालिका कार्यालयकी दुर्गा घिमिरे लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले गरेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com