Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

आमाको सक्रियताले थाहानगरमा छोरीको बालबिवाह रोकियो

आमा सचेत र सक्रिय हुँदा मकवानपुरको थाहा नगरपालिका–४ नारायणझ्याउमा बालबिवाह रोकिएको छ । औपचारिक शिक्षाको कमी भए पनि बालबिवाह हुन दिनु हुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालबिवाह रोकिएको यो मकवानपुरको पहिलो औपचारिक घटना हो ।

थाहा नगरपालिका–४ नारायणझ्याउकी ५० वर्षीया फूलमाया थिङले आफ्नै छोरीको बालविवाह रोक्नु भएको हो । अर्को गाउँको २० वर्षीय केटाले आफ्नो १४ वर्षीया छोरीलाई भगाएर लगेको थाहा पाउनेवित्तिकै उहाँ बालविवाह विरुद्ध उत्रिनुभयो । छोरीको बालबिवाह हुन लागेको भन्दै उनले वडा अध्यक्ष दीपकसिं लामालाई फोन गरिन् ।

छोरीको बालविवाह भएकोबारे आमा सचेत हुनु र वडा अध्यक्षले यसबारे सूचना पाउनु नै बालविवाह रोकिनुको मूल कारण बन्न पुग्यो । वडा अध्यक्ष लामाले आफ्नै वडामा बाल बिवाह भएको सूचना पाउने वित्तिकै बागमती प्रदेशको सामाजिक प्रदेश मन्त्रालयमा खबर गरे । लगत्तै मन्त्रालयले बालबिवाह रोक्न तदारुकता देखायो र सरोकारवालाको पहलमा बालबिवाह रोकियो ।

‘थाहा नगरपालिकालाई बालबिवाहमुक्त नगर बनाउने घोषणासहित अघि बढेको अबस्थामा आफ्नै वडामा बालबिवाह भएको खबरले मलाई चिन्तित तुल्यायो, जसरी पनि यो बिवाह रोक्नु पर्छ, अन्यथा कानूनको दायरामा लैजानु पर्छ भन्ने लागेर सबैतिर फोन गरें, सफलता पनि मिल्यो,’ वडा अध्यक्ष लामाले भने ।

बागमति प्रदेशको सामाजिक विकास मन्त्रालय स्वयम् प्रदेशलाई बालबिवाहमुक्त बनाउन कार्यक्रमसहित अघि बढिरहेको बेला वडा अध्यक्षको फोनले चुप रहन सकेन । बालबिवाहमुक्त बागमती प्रदेश अभियानकी सहजकर्ता पविना लामा, सिविन बाल हेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवाली, थाहा नगरपालिका–४ का वडा अध्यक्ष लामा, थाहा नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख प्रतिमा माेक्तान, वडा सचिब पाल्साङ लामा, लेकाली बसीफाँट माविका अध्यक्ष विनोदकुमार लामा लगायतको टोली गाउँमै पुगेर सम्झाइबुझाई गरेपछि बालबिवाह रोकिएको छ ।

सिविन बाल हेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवालीका अनुसार बालबिवाह गैरकानूनी भएको र दण्डनीय समेत भएको भन्दै यसका सामाजिक, आर्थिक र शारीरिक प्रभावहरुबारे समेत बताएपछि उनीहरु बिवाह रोक्न सहमत भएका थिए । तामाङ संस्कारमा माइतीले केटा पक्षको प्वाङ(सगुन) नस्वीकारेसम्म बिवाहको कल्पनासम्म पनि गर्न सकिँदैन । केटाकेटी भागेर बिवाह गरे पनि माइतीले प्वाङ नखाएसम्म त्यस्तो बिवाहलाई मान्यता दिइँदैन ।

बालिकासँग बिवाह गर्ने केटाले शुरुमै प्वाङ ल्याउँछु भनेपछि छोरीको बालबिवाह भएको बारे आमाले थाहा पााएकी थिइन् । फूलमायाले २० वर्ष उमेर पूरा भएपछि मात्र छोरीको बिवाहबारे सोच्न सकिने बताइन् ।



https://www.thahatimes.com/public/images/users/IMG_20201219_235343-1622052406.jpg

कुमार नेगी

kumarnegi@gmail.com