Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

आफूविरुद्ध गुनासो संकलन गर्न स्थानीय तहमा प्रहरीको पेटिका स्थापना

sujhab-1600435220.jpg

आफूविरुद्ध गुनासो संकलन गर्न प्रहरीले बागमती प्रदेशका २८ वटा स्थानीय तहमा गुनासो पेटिका स्थापना गरेको छ ।

प्रदेशको राजधानी हेटौंडाबाट थालिएको अभियानको प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले उपमहानगरपालिका कार्यालय परिसरमा पेटिका राख्दै सुरुवात गरेका हुन् । नागरिकबाट प्रहरीसँग भएका गुनासो तथा सुझाव संकलन गरी सेवालाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेश भरीका हरेक स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राख्ने निर्णय गरेको हो ।

प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीबाट सम्पादन भएका काम कारबाहीको बारेमा नागरिकबाट प्राप्त हुने सल्लाह, सुझाव तथा गुनासोलाई उचित सम्बोधन गरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव पेटिका सञ्चालनसम्बन्धी कार्ययोजना निर्माण गरिएको प्रहरी नायब महानिरीक्षक लामाले बताए । कार्ययोजनाको व्यवस्था अनुसार तीन चरणमा गरी स्थानीय तहको केन्द्रमा रहेको कार्यालय र वडा स्तरसम्म गुनासो तथा सुझाव संकलन पेटिका राखिएको छ ।

प्रथम चरणमा महानगरपालिका, उपमहानगरपालिका र सदरमुकाममा रहेको गाउँपालिकामा, दोस्रो चरणमा ७० वटा गाउँपालीहरु र तेस्रो चरणमा ८ सय ७४ वटा वडा कार्यालयहरुमा गुनासो तथा सुझाव संकलन पेटिका राखिने उनले बताए ।