Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आग्राको चिसापानीमा रोपियो दुई हजार भेटिवरका विरुवा
‘रिचार्जेबल’ पोखरीले पानीको श्रोत नसुक्ने विश्वास 

मकवानपुरको थाहा नगरपालिका वडा नं. ७ आग्रा चिसापानीको जंगलमा पोखरी संरक्षणका लागि सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चले भेटिवरको वृक्षारोपण गरिएको छ ।

थाहा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत दीपक गजुरेलले प्रमुख अतिथिको रुपमा एक कार्यक्रमका बीच भेटिवर रोपेर वृक्षारोपणको शुरुवात गरेका थिए ।  टियर फण्डको सहयोगमा सञ्चालन गरिएको परियोजना अन्तगर्त शनिबार स्थानीय बासिन्दाको सहभागितामा  दुई हजार  भेटिवरको विरुवा रोपिएको संस्थाले जनाएको छ । 

भूक्षय रोक्न जैविक पर्खालको काम गर्ने भेटिवरको विरुवा मकवानपुरमै पहिलोपटक थाहाको चिसापानी जङ्गलमा रोपिएको सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चका कार्यक्रम संयोजक बद्रि पण्डितले दावी गरे । समुदायमा आधारित विपद व्यवस्थापन कार्यक्रम अन्तर्गत भेटिवर रोपिएको उनले बताए । 

कार्यक्रममा बोल्दै थाहा नगरपालिका कार्यालय निमित्त कार्यकारी अधिकृत दीपक गजुरेलले बस्ती माथिको पोखरी संरक्षणबाट बैज्ञानिक रुपमा तल्लो क्षेत्रमा पानी प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे । उनले भविष्यमा ‘रिचार्जेबल पोण्ड’ र भेटिवर रोपणबाट स्थानीय क्षेत्रको पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने र यसका लागि स्थानीयले पहल गर्नुपर्ने बताए । 

बस्तीमाथिको क्षेत्रमा पोखरी हुँदा त्यसले तल्लो क्षेत्रमा जल प्रवाहमा ‘रिचार्ज’ को काम गर्ने संयोजक पण्डितले बताए । स्थानीयको सहभागितामा खनिएको ४० मिटर लम्बाइ, १३  मिटर चौडा र ३ फिट अग्लो खाल्डोको वरपर भेटिबर रोपिएको हो ।

वर्षामा पानी पर्दा उक्त खाल्डोमा पानी जमेर पोखरी हुने र भेटिबरको कारण भूक्षय रोकिएर उक्त पोखरीको संरक्षण हुने वडास्तरीय विपद व्यवस्थापन समितिका संयोजक रामबहादुर स्याङ्तानले बताए । 

पोखरीको पानीले सुख्खायाममा पानीको मुहान सुक्न नदिई खानेपानी नियमित हुने स्थानीयले विश्वास गरेका छन् । कार्यक्रममा स्थानीय हरिबहादुर स्याङ्तानले पानीको श्रोत संरक्षणमा संस्थाको सहयोगप्रति धन्यवाद दिँदै यसले पर्यटकीय महत्व राख्ने बताए । 

भेटिवर एक प्रकारको झारजन्य वनस्पति हो जसको बोट कुशको जस्तो हुन्छ भने जरा शक्तिशाली तारजाली जस्तो आठ फिट लामो हुन्छ । भूक्षय रोक्नका लागि यसले जैविक पर्खालको काम गर्ने विज्ञहरु बताउँछन् ।

भेटिवर हुर्किएको ६ महिनापछि नै जरा फैलाएर भूसंरक्षण गर्न थाल्ने टियरफण्डका लाइभ्लीहुड तथा डिआरआर कोअर्डिनेटर माधव पण्डितले बताए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०