Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

आइसोलेसनमा रहेकी २ वर्षीया बालिकाको मृत्यु

corona-death-body-1590906084.jpg

 बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा। रुपचन्द्र विश्वकर्माले जानकारी दिए । मृत बालिकाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो । पीसीआर रिपोर्ट आउन बाँकी रहेको जल्ला अस्पतालले जनाएको छ । मृतक बालिकाको शव व्यवस्थापन परीक्षण रिपोर्ट आएपछि मात्र गरिने अस्पतालले जनाएको छ ।

बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा बालिका आफ्ना बाबुआमासँगै थिइन् । बालिकासहित उनका आमाबुवाको स्वाब संकलन गरी धनगढी पठाइएको थियो । अवस्था जटिल भएपछि मार्तडीको जिल्ला अस्पतालको आइसोलेसनमा जेठ १५ गते साँझ राखिएको थियो । बालिका पखाला, ज्वरो र स्वास प्रश्वास समस्याबाट ग्रसित रहेकी थिइन् ।

‘अवस्था निकै चिन्ताजनक रहेको र बचाउन नसकिएको’ उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । ८ दिनअघि उनको परिवार भारतबाट आएको थियो । भारतबाट आएर बुढीगंगा नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । बालिकासंँगै उनका बुवा र र आमालाई पनि आइसोलेसनमा राखिएको थियो । भारतबाट आउँदै गरेको अवस्थामा बाटोबाटै बिरामी थिए ।

यसअघि शनिबार राति डडेलधुरामा पनि क्वारेन्टाइनमा एक जना ६ वर्षीय बालकको मृत्यु भएको थियो । यसैगरी डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् ।

शनिबार राति १२ बजे जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको डडेलधुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

आमाबुबासँगै शनिबार गौरीफण्टा नाका भएर आएका सबैलाई आइतबार गाउँ लैजाने गरी डडेलधुरा सदरमुकाममा रहेको डडेलधुरा बहुमुखी क्याम्पस क्वारेन्टाइनमा राखिएको थियो । राति बालक अचानक बिरामी भएपछि अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बालक बिरामी भएपछि बिहान ३ बजे अस्पताल पुर्‍याउँदा मृत अवस्थामा रहेको डडेलधुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। जगदीशचन्द्र विष्टले वताए । क्वारेन्टाइनमा मृत्यु भएका बालकको आजै स्वाबको नमुना लिएर पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाउने डडेलधुरा अस्पतालले जनाएको छ । 
इकान्तिपुरबाट ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०