Tuesday, 25th August, 2026
वि.स.

अर्घाखाँची शितगंगाको पहिरोले डेढ दर्जन परिवार विस्थापित

arghakhachi-1601102839.jpg

 अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–१२ मा पहिरो जाँदा उच्च जोखिममा परेपछि थप डेढ दर्जन घर परिवार विस्थापित भएका छन् ।

नगरपालिकाको वडा नं. १२ कोठिया मैदानको जोख्ले गैरा, पहरेपानी, मैदान लगायतका स्थानमा शुक्रबार दिउँसो जमिन भासिएर माथिबाट पहिरो खस्दा १७ घर बगाएको थियो । गाउँका ३५ घरमध्ये १७ घर बगाएपछि बाँकी डेढ दर्जन घर पनि उच्च जोखिममा परेपछि सबै परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

१७ घरमा बस्दै आएका करिब सय जना बासिन्दा सबै पहिरोले घर नबगाउँदै भाग्न सफल भएकाले मानवीय क्षति नभएको नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताए । उनीहरुलाई गौरा माध्यमिक विद्यालयमा राखिएको अधिकारीले बताए । ‘दिउँसोको समय भएकाले पहिरो जाने थाहा पाएपछि घरमा रहेका सबै मान्छे बाहिर निस्केर सुरक्षित हुन सफल भए,’ मेयर अधिकारीले भने, ‘अहिलेसम्म मानवीय क्षति भएको कतैबाट जानकारी आएको छैन, भौतिक क्षतिको विवरण तयार गर्दैछौं ।’

पहिरोले १७ परिवारका गोठ, कुखुरा, कृषि फार्म, घरमा रहेका नगद, खाद्यान्न, कपडा पनि पुरेकाले ठूलो क्षति भएको वडा अध्यक्ष बाबुराम गैरेले बताए ।

घटनास्थलमा शनिबार पनि प्रहरी र स्थानीयवासीले विस्थापित परिवारलाई व्यवस्थित तरिकाले राख्ने काम गरिरहेका छन् । विस्थापित परिवारलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती रहेको उनले बताए । ‘विस्थापित परिवारलाई अस्थायी व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनाका लागि स्थानीय र प्रदेश सरकारको सहयोग चाहिने अवस्था छ, वडाले मात्रै गाह्रो छ,’ वडा अध्यक्ष गैरेले भने ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif