Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

अरू रोगले भन्दा कोरोनाबाटै बढी मृत्यु

nco-test-1598507707.jpg

हालसम्म मुलुकमा कोभिड–१९ कै कारणले भन्दा पनि अरू नै स्वास्थ्य समस्या भएकामा यसको संक्रमण हुँदा बढी मृत्यु भएको ठानिँदै आएकामा अब यो गलत सावित भएको छ । कोभिड–१९ बाट बुधबारसम्म मृत्यु भएका १ सय ७५ जनाको तथ्यांक केलाउँदा कोरोनाजन्य जटिलताकै कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ ।

कोभिड–१९ सँग मात्रै सम्बन्धित जटिलताले देशभरमा ५६ जनाले ज्यान गुमाएका छन् । त्यसपछि क्रमशः पहिल्यै निमोनिया, मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, मुटु रोग र हाइपोथाइरोडिजम भएकाहरूको कोरोना संक्रमणसमेतका कारण मृत्यु भएको छ ।

कोभिड–१९ का कारण मृत्यु पुष्टि भएकामध्ये करिब ३२ प्रतिशतको कोभिडसम्बद्ध कुनै न कुनै प्रकारको जटिलताले ज्यान गएको छ । बाँकीमा अरू स्वास्थ्य समस्या रहेको देखिन्छ । अन्य स्वास्थ्य समस्यासँगै निमोनिया भएका बिरामीको संख्या पनि बढी छ । अरू रोगसँगै निमोनिया देखिएका बिरामी करिब १७ प्रतिशत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ६० वर्षभन्दा माथिका ६८ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी ज्यान गुमाएकामा ४१ देखि ६० वर्ष उमेर समूहका छन् । यो उमेर समूहका ७१ जनाको मृत्यु भएको छ । यो उमेर समूहमा पनि विभिन्न रोगका साथै केहीमा कोभिड–१९ सँग सम्बन्धित जटिलता मात्रै देखिएको थियो ।

१९ वर्षदेखि ४० वर्ष उमेर समूहका २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो उमेर समूहकामा भने प्रायः सबैमा कोभिड–१९ सँग सम्बन्धित जटिलता नै मृत्युको मुख्य कारण छ । यस्तै नवजात शिशुदेखि १८ वर्ष उमेर समूहका ७ जनाको मृत्यु भएको छ । यो उमेर समूहका अधिकांशलाई झाडापखालाको समस्या देखिएको थियो । म्याग्दीका ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । ती बालकको मिर्गौलामा गम्भीर समस्या थियो ।

मन्त्रालयको तथ्यांकअनुसार कोभिड–१९ का कारण बुधबारसम्म काठमाडौं उपत्यकामा २२ जनाको मृत्यु भएको छ, जसमा १३ पुरुष र ९ महिला छन् । तीमध्ये ४ जनाको मात्रै कोभिड–१९ ले निम्त्याएको जटिलताले ज्यान गएको देखिन्छ । अन्यमध्ये ७ जनामा मिर्गौलाको समस्या थियो भने ७ जनालाई उच्च रक्तचाप थियो । बाँकीमा मुटु रोग र मधुमेहलगायत समस्या थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०