Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सगरमाथा हेर्न दामनको भर्‍याङ पार्क [हेर्नुहोस फोटो फिचर]
अनिता विष्ट

बाग्मती प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र थाहानगरको दामनमा १ सय ५७ खुड्किलोको फलामे भर्‍याङ निर्माण गरिएको छ । दामन पर्यटकीय दृष्टिले मकवानपुरकोकै लोकप्रिय थलो हो । 

दामनस्थित ‘प्राकृतिक टाकुरा’ पुग्न ७० मिटर लामो फलामे भर्‍याङ बनाइएको छ । यहाँबाट हिमालको दृश्यावलोकनसँगै थाहानगरको ठूलो बेशीफाँट, लालीगुराँस फुलेको देख्न सकिन्छ ।

समुद्री सतहबाट करिब २ हजार ३ सय २२  मिटरको उचाइमा रहेको अग्लो स्थानलाई ‘प्राकृतिक टावर’ को रुप दिइएको छ । अग्लो टाकुरालाई वरपरबाट ढुंगा र सिमेन्टको गारोले घेरेर प्राकृतिक टावरको रुप दिइएको थाहा नगरका उपप्रमुख खड्ग गोपालीले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरणमा फलामे भर्‍याङसहित पार्क निर्माण गरिएको गोपालीले जानकारी दिए । ‘प्राकृतिक टाकुरामा पुगेर चारैतर्फको दृश्यावलोकन गर्न अब यो सिँढी चढेर जानुपर्नेछ । प्राकृतिक टाकुरासम्म पुग्न निर्मित भर्‍याङ नेपालकै अग्लो फलामे भर्‍याङ भएको अहिलेसम्मको हाम्रो दाबी हो’, उनले भने ।

भर्‍याङसहित प्राकृतिक टावर बनेपछि थाहा नगरपालिकामा अब अर्को दृश्यावलोकन स्तम्भ थपिएको र यो स्तम्भ नेपालकै पर्यटकीय केन्द्र बन्न सक्ने उपप्रमुख गोपाली बताउँछन् । हाल निर्माण भएको दृश्यावलोकन केन्द्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आधा दर्जन उच्च हिमशृंखला दृश्यावलोकन गर्न सकिन्छ । 

यहाँ हरेक वर्ष जाडो मौसममा हिउँ पर्ने गर्छ । हिउँ पर्ने समय काठमाडौं, चितवनसहित तराईका धेरै पर्यटकले दामन भ्रमण गर्ने गरेका छन् । बाहिरी जिल्लाबाट आउने पर्यटकको पहिलो रोजाइ पनि दामन नै हुने गरेको छ ।

फोटोहरूः अनिता विष्ट



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०