Wednesday, 1st July, 2026
वि.स.

विद्यार्थीलाई प्राविधिक पाटोमा अब्बल बनाउनु पर्ने: पुर्व अर्थमन्त्री पाण्डे

प्राविधिक शिक्षा नै आजको अनिवार्य आवश्यकता रहेकोले विद्यार्थीलाई प्राविधिक पाटोमा अब्बल बनाउनु पर्ने पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय सुरेन्द्र पाण्डेले बताए । इन्द्रसरोवर गाउँपालिका वडा नं ५ फाखेलको खड्बुमा रहेको महाचुनी माद्यामिक विद्यालयको ५९ औँ अभिभावक भेला तथा नव निर्मित भवन उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि माननीय पाण्डेले यस्तो बताएको हो । उनका अनुसार विद्यालयमा विद्यार्थीले लिने शिक्षा व्यवहारिक, प्राविधिक, र अनुसन्धानमुलक हुनु पर्ने तर्फ केन्द्रित गर्दै यस्तो बताएका हुन् । 

महाचुनीको विविध कार्यक्रम सम्पन्न कार्यक्रममा २ वटा नव निर्मित भवनको रिवन काटेर साथै ताम्रपत्र अनावरण, शिलालेख अनावरण, विद्यालय परिसरमा वृक्षारोपण, पुस्तकालय कम्प्युटर ल्याव, आइसिटी स्मार्ट क्लास अवलोकन तथा विधिवत सञ्चालन शुभारम्भ, आय व्यय प्रस्तुति, नीति तथा कार्यक्रम प्रस्तुत, ई सि ई डि र कक्षा १ देखि १२ सम्मको वार्षिक परिक्षामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम, सम्मान, मायाको चिनो वितरण तथा सम्मान पत्र प्रदान लगायतका कार्यहरु गरिएको थियो ।

विद्यालयको सर्वोत्कृष्ट शिक्षकको रुपमा जनसंख्या विषयका विषय शिक्षक सरस्वती बलामी पुरस्कृत भएका छन् । विद्यालयको आधारभुत तह कक्षाको सर्वोत्कृष्ट कक्षा २ का निर्मल स्याङ्तान, कक्षा ६ देखि ९ को सर्वोत्कृष्ट कक्षा ८ का प्रदीप वाइवा, अनुशासन तर्फ फुर्वादोर्जे लामा, २०५ दिन हाजिरी सहित हाजिरी उत्कृष्ट कक्षा ८ का  इशाक वि.क. पुरस्कृत भएका छन् । 

पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मकवानपुर क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य माननीय विरोध खटिवडाको विशिष्ट आतिथ्यता र इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, प्लान इन्टरनेसनल नेपालका कार्यक्रम संयोजक दिपेन्द्र सिं सामन्त, राडो नेपाल मकवानपुरका प्रमुख कृष्ण धिताल, शिखरापुर क्याम्पस फर्पिङका प्रमुख निरोज श्रेष्ठ, पत्रकार महासंघका केन्द्रिय अध्यक्ष शान्तराम विडारी, फाखेल चौकी प्रमुख शिव प्रसाद मंगल यादव लगायतको आतिथ्यता रहेको थियो 



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।