Saturday, 27th July, 2024
वि.स.

र्‍याप स्टार बन्ने दौडमा मकवानपुर थाहाका विष्ट, ७००० बाट टप १६मा, अब भरोसा भोटको

rap-star-safal-1679743744.png

नेपालमा अहिले र्‍याप गीतमा आधारित रियालिटी सो ‘र्‍याप स्टार’ प्रसारण भैरहको छ जहाँ मकवानपुर थाहा नगरपालिकाका १९ वर्षीय युवक ७००० प्रतिष्पर्धीमध्ये टप १६ मा प्रवेश गर्न सफल भएका छन् ।

उनको नामै सफल अर्थात् सफल विष्ट । मकवानपुरको थाहा नगरपालिका–२ फाँटबजारका बासिन्दा उनी हाल काठमाडौँ, कलंकीमा १२ कक्षामा अध्ययनरत छन् । सानैदेखि  र्‍याप गायनमा शौखिन सफल विष्टलाई ओएसआर रियालिटी युट्युब च्यानलले शुरु गरेको र्‍याप स्टार रियालिटी शो एउटा ऐतिहासिक अवसर बनेको छ, जहाँ उनले अहिलेसम्म सफलता प्राप्त गरिरहेका छन् । 

थाहा टाइम्ससँग कुरा गर्दै विष्टले आफू लगातार प्रतिष्पर्धामा उकालो लागिरहेको र अब भोटिङ राउण्ड शुरु भएकोले भोटका लागि सम्पूर्णलाई आग्रह गरे ।
गत ६ फागुनबाट शुरु भएको र्‍याप रियालिटी शोको अहिलेसम्म १२ एपिसोड प्रशारण भइसकेको छ जहाँ ७००० बाट ३००, ३०० बाट १२०, १२० बाट ६० र ६० बाट १२ हुँदै सफल अब्बल सावित हुँदै गइरहेका छन् । उनी रियालिटी शोमा बि–सफको नामबाट परिचित छन् । 

आदित्य विक्रम अछामीको निर्देशनमा बनेको रियालिटी सोमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) निर्णायक छन् । यो कार्यक्रम शनिबार र आइतबार स्पेस फोरके टेलिभिजनबाट पनि प्रशारण हुन्छ । निर्णायकहरुले सफलको खुलेर प्रशंसा गरिरहेका छन् । तर, अबको राउण्ड भोटिङमा आधारित भएकोले सफललाई जजको भन्दा भोट गर्ने सहयोगीहरुको बढी आवश्यकता छ । 
‘भोटिङ राउण्डमा प्रत्येक हप्ता २ जना ‘आउट’ हुन्छ,’ सफलले जानकारी दिए । 

प्रतियोगितामा अहिलेसम्म प्रस्तुत गरेका गीतहरु सफल आफैले लेखेका छन् । उनको शब्द, भाव र प्रस्तुतीले निर्णायकहरुलाई बढी तानेको देखिन्छ । पछिल्लो प्रस्तुती थाहानगरका कृषकहरुले झेलिरहेको समस्यामा केन्द्रित हुने सफलले बताए । ‘म मकवानपुरेको छोरा हुँ, मलाई साथ दिनुस्’ थाहा टाइम्समार्फत् उनले भने । 

कसरी दिने भोट ?

सफललाई भोट गर्नका लागि मोवाइल फोनमा गुगल प्ले स्टाेरबाट ओएसआर कनेक्ट एप डाउनलोड गर्नुपर्छ । उक्त एप खुलेपछि र्‍याप स्टार रियालिटी शोमा सफलको फोटो देखिन्छ । उक्त फोटोमा क्लिक गरेपछि भोट गर्ने प्रक्रिया अघि बढ्ने सफलको भनाइ छ ।