Saturday, 4th July, 2026
वि.स.

राष्ट्रिय पुननिर्माण प्राधिकरणले सुरु गर्‍यो भर्चुअल परिसंवाद

Sushil-Gyawali-3-1598318864.jpg

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमबारदेखि ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ आयोजना गरेको छ ।

प्राधिकरणले विगत पाँच वर्षदेखि गरेका कामको अनुभवहरु आदानप्रदान गर्न भर्चुअल माध्यमबाट ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ आयोजना गरेको हो।

तीन दिनसम्म चल्ने कार्यक्रममा २०७२ सालको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनर्स्थापना कार्यबाट प्राप्त गरेका अनुभव र सिकाइहरु आदान प्रदान हुने छ। कार्यक्रमको शुभारम्भ गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा पुनर्निर्माणका अधिकांश कामहरु सम्पन्न गरेको बताए।

सात लाख ९० हजार भन्दा बढी निजी घरहरुको पुनर्निर्माणका लागि अनुदान सम्झौता सम्पन्न भएकोमा हाल सम्म ७६ प्रतिशत अर्थात ६ लाख भन्दा बढी घरहरु पुनर्निर्माणको अन्तिम चरणमा पुगेको उनले बताए।

उनले ८८ प्रतिशत घरहरुको दोस्रो चरणको काम सम्पन्न भएको र ९० प्रतिशत घरधनीले निर्माणका लागि सम्झौता गरिसकेको बताए। त्यस्तै ४ हजार ८ सय २९ घरहरुमध्ये अधिकांशलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको पनि उनले बताए। ७ हजार ५ सय ५३ विद्यालय मध्ये ७५ प्रतिशतको पुननिर्माण सम्पन्न भएसकेको पनि उनले बताए। त्यस्तै सामुदायिक भवन, सांस्कृतिक सम्पदाहरु, स्वास्थ्य संस्था लगायतका संरचनाहरुको पुनर्निमाण पनि सन्तोषजनक रहेको ज्ञवालीले बताए। उनले पुनर्निर्माण र पुनर्स्थापनाका क्रममा प्राप्त भएका सफलता, उपलब्धी एवं कमीकमजोरीहरुबारे परिसंवादमा समीक्षा हुने र साझा धारणा निर्माण हुने विश्वास व्यक्त गरे।

प्राधिकरणले भूकम्प पछिको पुनर्निर्माण र पुनस्र्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाइ र अनुभवहरु अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ। त्यसको तयारीका लागि भर्चुअल माध्यमबाट परिसंवाद कार्यक्रम आयोजना गरेको प्राधिकरणले बताएको छ।

परिसंवादमा पुनर्निर्माण र पुनर्स्थापनाका ६ वटा विषयगत क्षेत्रहरु निजी अवास पुनर्निर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्दार तथा राहत एवं सुशासनबारे छलफल हुनेछ। परिसंवादमा ६० वटा शोधपत्रहरु प्रस्तुत हुनेछन्। कार्यक्रममा प्राधिकरणका अधिकारीहरु, विभिन्न सरकारी निकायका प्रतिनिधि, पुनर्निर्माणमा सहयोग गरेका दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधि, विषयगत विज्ञहरु, भूकम्प पीडित, निजी क्षेत्रका प्रतिनिधि र कार्यपत्र प्रस्तोताहरु सहभागी भएका छन्। कार्यक्रम भदौ ११ गतेसम्म चल्ने छ ।