nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

योजना तर्जूमाका लागि पूर्व योजना तर्जुुमा गोष्ठी

आर्थिक वर्ष २०७४/०७५ को जिल्ला विकास योजना तर्जूमाका लागि पूर्व योजना तर्जुुमा गोष्ठी हेटौंडामा सम्पन्न भएको छ । सहभागितामूलक योजना तर्जुमाको चौधौं चरणको प्रक्रियामा उल्लेख भएअनुसार समयसिमा भित्र रही पूर्व योजना तर्जूमा गोष्ठी जिल्ला विकास समितिको भवनमा सञ्चालन भएको हो ।

कार्यक्रममा प्रस्तुती राख्दै जिल्ला विकास समिति मकवानपुरका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपानेले हालसम्म केन्द्रबाट बजेट सिलिङ नआएका कारण गत आर्थिक वर्षको मार्गदर्शनमा आधारित भएर योजना निर्माण गरिएको जानकारी दिनुभयो । समयभित्र पूर्व योजना तर्जूमा गोष्ठी सक्नुपर्ने भएका कारण गत आर्थिक वर्षको भन्दा १० प्रतिशत बजेट बृद्धि गरी योजना बनाइएपनि अब जुन मार्गदर्शन आउँछ त्यसैमा आधारित भएर अघि बढिने जानकारी दिनुभयो । उहाँका अनुसार मुलुक संघीयतामा जाने प्रक्रियामा रहेकोले केही विगतका वर्षहरुमा भन्दा केही फरक भएपनि आधारभूत रुपमा विगतका वर्षहरुमा जस्तै योजना निर्माण गरिने बताउनुभयो । उहाँले जिल्ला विकास समितिले केन्द्रको निर्देशन, जनताको भावना, नीति निर्देशिका भित्र रहेर काम गरिने स्पष्ट पार्नुभयो ।

कृषि, पर्यटन, उर्जा, ग्रामीण विकास, सामाजिक विकास, मानव विकास, जनमैत्री सेवा, लैंगिक समानता, जलवायु परिवर्तन जस्ता निर्देशक सिद्धान्तभित्र रही योजना निर्धारण गरिने उहाँले जानकारी दिनुभयो । योजना निर्माणका क्रममा शिक्षा, स्वास्थ्य, समावेशीता जस्ता विषयमा पनि ध्यान दिइने योजना, अनुगमन तथा प्रशासकीय अधिकृत न्यौपानेको भनाई थियो । एउटा निर्वाचन क्षेत्रमा एउटा ठूला भौतिक संरचना बनाउने, भौतिक निर्माणका क्रममा वातावरणलाई ख्याल गर्ने विषयलाई जिविसले ध्यान दिनेछ । पूर्ण सरसफाई, खोप, साक्षर जस्त यसअघि सञ्चालन भएको अभियानलाई निरन्तरता दिइने र सन्तुलित विकासमा ध्यान दिने जिविसको योजना छ ।

कार्यक्रममा मन्तव्य राख्दै निमित्त प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथि हरिप्रसाद पन्तले पूर्व योजना तर्जूमा गोष्ठी योजना तर्जूमाको महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयो । जिल्लाको विकास सरोकारवाला सबै पक्षको पहल र सक्रियतामा सम्भव हुने भन्दै उहाँले विकाससँग सम्बन्धित बहुपक्षीय सरोकारवालाहरु बीच भएको गोष्ठीले जिल्लाको विकासमा महत्वपूर्ण योगदान दिने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, नेकपा एमालेका अध्यक्ष मुनु सिग्देल, नेकपा माओवादी केन्द्रका भीम पाख्रिन, नेकपा माओवादी क्रान्तिकारीका जिल्ला संयोजक दिलबहादुर घिसिङ, जिल्ला बन कार्यालयका प्रमुख राजेन्द्र न्यौपाने, अपाङ्ग जिल्ला समन्वय समितिका नवराज पौडेल, गैसस महासंघका जिल्ला सहसचिव पुष्पपराग पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरुले जिल्लाको विकासमा नागरिकको भावना समेट्न र जनताको विश्वास जीतेर अघि बढ्न सुझाव दिएका थिए ।