Wednesday, 1st July, 2026
वि.स.

मेरो अनुभूति: महिलाहरुलाई उचित शिक्षा अन्धकार हटाउने बाटो

Dolma-00023-1519187583.jpg

डोल्मा लामा दोलखा जिल्लाको विकट ग्रामिण भेगमा जनजाती (तामाङ्ग) परिवारमा जन्मिएकी डोल्मा लामा उच्च शिक्षाको अध्ययनका क्रममा हाल अमेरिकामा छन् । उनले आफ्नो बाल्य अवस्थालाई स्मरण गर्दै यसरी आफ्नो अनुभूति लेखेकी छन् । गाँउले वातावरणमा हुर्किएकी एक्ली सन्तान हुँ म । त्यतिबेला मेरो गाँउबस्तीमा छोरीलाई पढाउने चलन थिएन, तर पनि म भागी–भागी बिद्यालय जान्थेँ । विद्यालय जान थालेपछि मेरी आमा भने खुशी हुुनुहुन्थ्यो । छोरीहरुलाई घरको काममा लगाउने चलन थियो । त्यो त अझै पनि नेपाली समाजमा विद्यमान छ । त्यही समाजमा हुर्कीएकी म ।

मेरो बुवा पनि उही पुरातनबादी सोचको मान्छे हुनुहुन्थ्यो । मैले घाँस, दाउरा, मेलापातको काम गर्दा अत्यन्त खुशी हुने । तर विडम्बना म भागी भागी स्कूल गएको थाहा पाउँदा त्यति नै दुःखी । तर मेरो सानै देखिको पढ्ने तिब्र इच्छा, समाज बदल्नुपर्छ भन्ने ईच्छा कहिल्यै मरेन, मेरो तीब्र ईच्छाले गर्दा जति नै बाधा अडचन आए पनि मैलै आफ्नो अध्ययनलाई निरन्तरता दिए । हुँ न त मलाई घरमा खान लाउनको कुनै दुःख थिएन । परिवारमा म एक्लो सन्तान भएकाले पनि मैले घरबाट पाउने सबै माया पाएकै थिए । तर त्यही पुरातनबादी सोंच भएको समाजले गर्ने व्यवहारको शिकार मेरी आमा भएकै हुन् । छर छिमेकीले छोरा नभएको परिवार अपूताली भनेर भन्ने गेरका घृणित वाक्य मेरा कानले सुनेकै हुन् । त्यतिखेर म ७ –८ वर्षकी हुँदी हुँ । तर पनि मलाई ती वाक्य र त्यो समाजले गर्ने व्यवहारले बाल मस्तिष्कमा थप पीडा दिएकै थियो । जसका कारण म भित्रको आगो झन दन्किन थाल्यो । मैले जसरी भएपनि समाजमा केही गरेर देखाउँनैपर्छ । त्यतिमात्र नभएर घरमा छोरा नभएपछि समाजले हेर्ने दृष्टिकोणमा भिन्नता हुन्थ्यो । त्यो धारणा अझै पनि पूर्ण रुपमा निर्मूल हुन सकेको छैन । यसले गर्दा मेरी आमाको मनमा गहिरो चोट पुर्याउथ्यो ,यी विविध बाधाहरुसंग जुज्धै, समस्या झेल्दै गाउँकै विद्यालयबाट कक्षा ७ उतीर्ण गर्न सफल त भएँ । फेरि अर्को समस्या मेरो अगाडी आइलाग्यो ।

मेरा गाउँमा कक्षा ७ सम्म त पढाई हुन्थ्यो तर ८ कक्षा पढ्न गाउँबाट निकै टाढा जानुपर्थ्यो र घरबाट एक्ली छोरीलाई टाढा पठाएर पढाउने कुरै भएन । घरको निर्णय विरुद्ध म घरदेखि टाढा जिल्लाको सदरमुकाम चरिकोट बसेर पढ्न थाले ।जे होस् मेरी आमाले भने सपोर्ट गरिरहनु भयों ।छोरीलाई छोरा सरह पढाएर ठूलो मान्छे बनाउने संङकल्प गरिन् । आमाले भन्नुहुन्थ्यो, "मैले छोरीलाई पढाएर छोरासरह बनाउछु र छोरी पनि छोरा सरह हो भन्ने देखाउन चाहन्छु " सामाजिक प्रथा, समाजको व्यवहार मेरा मुख्य बाधक थिए । मैले अध्ययनलाई सहज र सरल वातावरण प्राप्त गर्न सकिनँ । सदरमुकाम बसेर पढ्न थालेपछि म पढ्न पाएर खुशी त भएँ तर अनेक झमेला सहनुपर्यो ।मानिसहरुले घर बाहिर छोरी किन राखेकी भनेर कुरा काट्न थाले, यसबाट आमाले ठूलो मानसिक तनाव सहनुपर्यो भने बुवाको गालीगलौज पनि । तर पनि आमाले मलाई सहयोग गरिरहनु भयो, मैले पढाइलाई निरन्तरता दिईरहेँ । छोरीलाई पढाउन हुन्न भन्ने अरुको वचन र लाञ्छनालाई आशिर्वाद सम्झेर मैले कहिलै गलत बाटो रोजिन । मैले गरेको संङघर्ष नै मेरो भविष्य हो भन्ने मनन गर्दै दोलखाको सदरमुकाम चरीकोटबाटै प्रवेशीका उत्तीर्ण गर्न सफल भए । त्यसपछि भने मलाई हिम्मत र हौसला दिनेहरुको लाम पाए । हाम्रै गाउँका चेली नानीहरुका लागि पनि म नमूना कहलिए ।

गाउँका बुज्रुक भनाउँदाहरुले आफ्ना छोरी चेलीहरुको सफलताको कुरा गर्दा मेरै उदाहरण लिन थाले, ‘छोरी हुनु त डोल्मा जस्तो ।’ यसका पछाडी एउटै कारण थियो मेरो संघर्ष र सफलता । मेरो गाउँको महिलाहरुमध्ये तमाङ समुदायबाट एसएलसी उतीर्ण गर्ने सम्भवतः म पहिलो व्यक्ति थिएँ । पछि मैले त्यसबेला छात्रावृत्तिमा सि.एम.ए. कोर्ष गर्ने अवसर पाएँ । त्यो समयमा सीएमएको छात्रवृत्ति पाउनु नै निकै ठूलो मानिन्थ्यो । त्यो कोर्ष सँग संगै पढाईलाई निरन्तरता दिइरहे ।केही समय पछि वैवाहिक बन्धनमा वाँधिए । तर पनि कहिल्यै हिम्मत हारिन । हाल अमेरिकन युनिभर्सिटि सोभेरिगन, एरिजोना बाट स्नातक तह पुरा गरेकी छु र phd कोर्स अन्तर्गत छात्रवृतिको पर्खाईमा छु ।अहिले मेरो परिवारले मलाई विश्वास गरेको छ । मैले मेरो पारिवारिक समझदारी र सहयोग प्राप्त गरेकी छु । सहज रुपमा आत्मविश्वासको साथ बोल्न सक्ने भएकी छु । मैले मेरो आमा, बुवाका लागि छोरा सरह जिम्मेवारी निर्वाह गर्न सकेकी छु भन्ने लाग्छ । र प्रवास छु र पनि हरेक दिनको शुरुवात मेरो आमालाई फ़ोन गरेर उहाँको स्वर सुनेपछि मात्र आफ्नो शुरु गर्ने गरेकी छु । बुबाको स्वर्गारोहण हुँदा छोराले निभाउने पर्ने सबै कर्तव्य पूरा गरेँ । बुबाको काजकिरिया गरेँ । आफ्नी आमालाई छोराको अभाव महसुश हुन कहिल्यै दिइन । यो सबै मैले लिएको ज्ञान र मैले बाल्याकाल देखि गरेको प्रण नै हो र मेरो दायित्व पनि हो ।

हाल म प्रवासमा भएपनि मन मातृभूमि नेपाल सँग जोडिएको छ , आफ्नो केहि ब्यक्तिगत विकास,शैक्षिक विकास गर्ने क्रममा केही समय प्रवास रहेपनि भावना राष्ट्र विकाससंग गाँसिएको छ । राष्ट्रप्रति केही गरौ भन्ने भावना छ । एउटा महिला शिक्षित हुनु भनेको सम्पूर्ण परिवार नै शिक्षित हुनु हो । उसले आफ्ना सन्ततिलाई शिक्षित बनाउँछ । बालबालिकाको पहिलो पाठशाला उसैको घर हुने भएकोले महिलाले नै संस्कार सिकाउछन् । समाजलाई परिवर्तन गर्न महिलाको नै प्रमुख हात रहन्छ । पारिवारिक र सामाजिक भुमिकामा समेत सकारात्मक प्रभाव पार्न महिलाले नै सहयोग पु¥याउँछन् । जबसम्म महिलाहरुलाई उचित शिक्षा दिइदैन तबसम्म समाज अन्धकार नै रहनेछ । शिक्षा नै मानिसको तेस्रो आँखा हो । त्यसैले विशेषगरी महिला र बालिका शिक्षित हुनु भनेको समग्र घरपरिवार, समाज र राज्य नै शिक्षित भई एउटा सम्पन्न राष्ट्र बन्नु हो । त्यसकारण महिलालाई, सामाजिक, आर्थिक लगायत विभिन्न क्षेत्रमा अवसर तथा स्वतन्त्र रुपले आफ्नो अधिकार प्रयोग गर्न, अर्थपूर्ण सहभागिताका लागि प्रोत्साहन गर्नुपर्छ । पित्तृसत्तात्मक सोचले जरो गाडेको हाम्रो समाज बदल्न अब महिला नै अघि बढ्नुपर्छ ।

अहिलेको स्थानिय निर्वाचनबाट बाट पनि नीति निर्माता र कार्यान्वयन गर्ने गराउने निकायमा महिलाको संख्यात्मक सहभागिता मात्र हैन अर्थपुर्ण सहभागिताको आबश्यकता छ ,राज्यले महिलाका लागि यथेष्ट अवसरहरु प्रदान गर्र्दै कार्यन्वयन गराउनुपर्छ ।महिला, बालिकामाथि हुने गरेका सम्पूर्ण हिंसालाई जरैदेखि नउखेलेसम्म सभ्य र समुन्नत समाज निर्माण हुन सक्दैन । अहिलेको संरचना अनुसार तहगत रुपमा हरेक क्षेत्रमा महिलाको समान पहुँच, स्वतन्त्रता हुनु ज़रूरी छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०