Friday, 3rd July, 2026
वि.स.

मल्टिमिडिया पार्टनर थाहा टाइम्समै पढ्नुहोस् विकास खबरपत्रिका

प्रकाशकीय 

थाहा नगरपालिका मकवानपुरको उत्तरी क्षेत्रमा रहेका १० स्थानीय तह मध्ये एक हो । यहाँको आमसञ्चारको इतिहाँस हेर्ने हो भने दक्षिण एशियाकै पहिलो अभ्यास हो । तत्कालिन पालुङ गाविस हालको थाहा नगरपालिका वडा नम्बर २ मा अडियो टावर राखेर त्यहाँबाट आम नागरिकलाई सूचना दिने अभ्यास नेपालको मात्र होइन दक्षिण एशियाकै नमुना र पहिलो आमसंचार माध्यम हो । यस कारण पनि आम सञ्चारको उद्गम थलो थाहा नगरपालिकामा छ्यास्छ्यास्ती मिडिया हुनु पर्ने हो । तर छैन । यहाँ पत्रपत्रिका प्रकाशन आरम्भ नै नभएका पनि होइनन्् । प्रकाशन भए अनि केही समयपछि बन्द भए । छापाको तुलनामा एफ.एम. रेडियो अलि दीगो भए । यद्यपि रेडियो पनि स्थापना भई संचालन पछि बन्द भएका छन् । थाहा नगरपालिका क्षेत्रमै कार्यालय राखेर संचालनमा रहेको छापा संचार माध्यम एउटै मात्र विकास खबरपत्रिका साप्ताहिक नियमित प्रकाशनमा छ । प्रेस काउन्सिलको वर्गिकरणमा ‘क’ वर्गमा वर्गिकृत छ । जिल्ला सदरमुकाम हेटौंडा बाहिरबाट नियमित प्रकाशन हुने पुरानो पत्रिका विकास खबरपत्रिका हो । यसको अलवा यहाँ सामुदायिक रेडियो पालुङ र दामन एफ.एम. प्रशारणमा छ । अनलाईनमा थाहा टाइम्स डटकम नियमित अपडेट छ । थाहा टाइम्स विकास खबरपत्रिकाको मल्टिमिडिया पार्टनर हो । थाहापाटी डटकम पोर्टल छ, अद्यावधिक छैन । पछिल्लो समय टिष्टुङ पालुङ डटकममा समाचार अपडेट थालिएको छ । यि बाहेक सदरमुकाम हेटौंडा तथा काठमाण्डौबाट प्रशारणमा रहेका अनलाइन तथा अन्य संचार माध्यममा स्थानीय समक्ष पहुँच त आवश्यकता अनुसार हुने नै भयो । 

नागरिकलाई निरन्तर समाचार, विचार तथा अन्य पठनीय सामाग्री मार्फत सू–सूचीत पारिरहेको सन्दर्भमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले नेपाललाई पनि छोएको छ । अरु देशमा जस्तो संक्रमण नभए पनि नेपाल अछुतो भने पक्कै छैन । कोरोना भाइरसबाट सिर्जित हालको अवस्थामा हाम्रा निम्ति पाठक, हाम्रा सहकर्मी कर्मचारी र आम नागरिकको स्वास्थ्य नै प्राथमिकताको मुख्य विषय भन्ने हामीले ठानेका छौं । कुनै पनि बखत संक्रमित हुन सक्ने तथा त्यसबाट रोग फैलन सक्ने खतरालाई हामी बेवास्ता गर्न सक्दैनौं । यसमा हामी सँधै चनाखो नै हुनै पर्दछ । राज्यले अहिले कोरोना संक्रमण फैलन नदिन १८ चैतसम्म देशव्यापी ‘लकडाउन’को घोषणा गरेको छ । औषधि र खाद्यान्न बाहेक ओसारपसार र आवागमन बन्द गरेको छ । कुनै पनि माध्यम वा वस्तुबाट भाइरस प्रवाह हुन नपाओस् भन्ने सरकारको आह्वानलाई तपाई हामी सबैले मान्नै पर्छ । यस अवस्थासम्म आइपुग्दा नागरिकहरुलाई हामीले प्रत्येक सोमबार घर तथा व्यवशायिक प्रतिष्ठानहरुमा विकास खत्ररपत्रिका पु¥याइरहेको सन्दर्भमा अब उक्त सेवालाई जिम्मेवार भई मनन् गर्नुपर्ने असामान्य अवस्थाको सृजना भएको छ ।

अहिलेको महामारीको प्रकृति नै यस्तो छ, हात–हातबीच नै दूरी राख्नुपर्ने भएको छ । कुनै पनि बाहिरी वस्तुसँग जति धेरै भौतिक दूरी राख्न सक्यो, सम्भावित खतराबाट जोगिन सहयोग मिल्नेछ । त्यसैले अहिले हाम्र्रो प्रकाशन र तपाई पाठकबीच अस्थायी रूपले दूरी अलि टाढा कायम राख्नुपर्ने बाध्यता आइपरेको छ । यस बाध्यता स्वरुप विकास खबरपत्रिका साप्ताहिकको १७ चैतमा प्रकाशन हुने अंकदेखि स्थगित गरेका छौं । तपाईहरुका लागि छिनछिनमा समाचार दिन भने हाम्रो प्रतिवद्धता भने कायमै छ । यस कार्यमा हामी प्रतिवद्ध छौं । यसका लागि विकास खबरपत्रिकाको मल्टिमिडिया पार्टनर थाहा टाइम्स डट.कम.मा हाम्रो सम्पूर्ण जनशक्ति केन्द्रित हुनेछन् । अनलाईन मार्फत तपाईहरु सामु प्रस्तुत भैरहने छौं । अनलाइनका माध्यमबाट छिनछिनको अपडेट दिने प्रतिवद्धता व्यक्त गर्दछौं । तपाई आम पाठकसंगको हाम्रो १२ वर्षे प्रकाशन यात्रा क्षणिकका लागि मात्र स्थगित भएको भन्ने बुझ्नु हुनेछ भन्ने आशा व्यक्त गरेका छौं । हाम्रो अहिलेको बाध्यात्मक निर्णयबाट आम पाठक तथा शुभचिन्तकलाई पुग्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं । तपाईहरुलाई पनि थाहै छ । संक्रमणबाट जोगिने सबैभन्दा अचुक उपाय घरमै बसेर, बाहिरी वस्तु एवम् व्यक्तिहरूसंगको दुरी टाढा राख्नू नै हो । यसो गर्नसके महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९)लाई जित्न सकिन्छ । तसर्थ, यसतर्फ सबैलाई आ–आफ्नो क्षेत्रबाट पहल गर्न र सचेतना अपनाउन अपील गर्दछौं । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०