Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा शुरु भयो पेड्रिप परियोजना

अपाङ्गता भएका व्यक्तिहरुलाई सबै प्रकारको सेवा दिने उद्देश्यका साथ मकवानपुरमा १४ मंसीरबाट पेड्रिप परियोजना (पोष्ट डिजास्टर डिसेबिलिटी रिहाविलिटेशन एण्ड इन्क्लुसन प्रोजेक्ट–पिइडिआरआइपि) शुरु भएको छ । जिल्ला विकास समिति मकवानपुरको सभाकक्षमा परियोजना उद्घाटन गरिएको हो । 

दुई वर्षसम्म सञ्चालन हुने परियोजनाबाट जिल्लाका करिब दुई हजार अपाङ्गता भएका व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा लाभ दिने उद्देश्य राखिएको छ । कार्यक्रममा प्रस्तुती दिँदै एचआरडिसीका निर्देशक विकासमान सिंहले यस परियोजनाबाट प्रत्यक्ष रुपमा दुई हजार व्यक्तिहरुलाई लाभ दिने उद्देश्य राखिएपनि अप्रत्यक्ष रुपमा जिल्लाका करिब ४८ हजार नागरिकले लाभ लिनसक्ने जानकारी दिए ।  नामटार, टिस्टुङ, दामन, पालुङ, आग्रा, गोगने र चित्लाङ कार्यक्षेत्र चयन गरिएपनि आवश्यकता अनुसार जिल्लाभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा दिइने जनाइएको छ । कार्यक्रममा सिबिएम अन्तर्राष्ट्रियका कार्यक्रम अधिकृत रिता गौतमले सिविएम अन्तर्राष्ट्रियको उद्देश्य र गतिविधिबारे जानकारी दिइन् । मुलुकमा आँखा अस्पतालबाट सुरु गरिएको सेवा आवश्यकता अनुसार थप गर्दै लगिएको र हाल सबै प्रकारका सेवा दिन थालिएको उनको भनाई थियो । 

स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीको सभाध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, जिल्ला शिक्षा अधिकारी विरेन्द्रजंग थापा, महिला विकास अधिकृत शोभा शाह, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठक लगायतको आतिथ्यता रहेको थियो । अतिथिहरुले कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिँदै आवश्यकता अनुसार समन्वय गर्न अनुरोध गरेका थिए ।