Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरगढीमा विकासको मूल, जनप्रतिनिधि आएपछी बने एक दर्जन पुल

 

मकवानपुर गढी गाउँपालिकामा जनप्रतिनिधि आएपछी विकासका कामले फड्को मारेको छ । ठाउँ–ठाउँमा सडक निर्माणको काम संगै वर्षायाममा खोला तर्न नसक्ने स्थानमा पक्की पुल, फलामे पुल र कल्भर्ट निर्माणको कामले तिब्रता पाएको छ । पहिले कच्ची सडक, त्यो पनि वर्षायाममा सवारी नचल्ने बाध्यता भोग्दै आएका गाउँपालिकावासी तीन वर्षको अवधिमा पक्की सडक र खोलामा पुलबाट सहजै रुपमा ओहोर दोहोर गर्न थालेका छन् ।

जनप्रतिनिधि आएपछी यो तीन वर्षको अवधिमा एक दर्जन पक्की पुल, झोलुङ्गे पुल र कल्भर्ट पुल समेत गरी एक दर्जन पुल निर्माणका लागि काम भएका छन् । केही बनी सकेका छन् भने केही निर्माणका चरणमा रहेका छन् ।

जनप्रतिनिधिको सक्रियतामा विकासले गति लियो

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको सक्रियतामा गाउँपालिकामा पुल निर्माण र सडक निर्माणले निकै प्राथमिकता पाएका छन् । पुल निर्माणका काममा सबै भन्दा धेरै गाउँपालिका आफैले बजेट हालेको छ । संघीय सरकार र प्रदेश सरकारले केही बजेट छुट्याएर काम भएको छ ।

पुल निर्माणको एउटा ज्वलन्त उदाहरण मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ को ज्यामिले खोलामा निर्माण गरिएको दोहोरो गाढी चल्ने पक्की पुल हो । कुल ३ करोड ८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको पुल निर्माणमा गढी गाउँपालिका आफैले सबै भन्दा धेरै एक करोड ७८ लाख रुपैयाँ खर्च गरेको अध्यक्ष हुमागाईले वताउनुभयो । त्यसमा संघीय सरकारले एक करोड रुपैयाँ र ३० लाख रुपैयाँ बागमती प्रदेश सरकारले खर्च गरेको छ ।

ज्यामिरे खोलाको त्रास हट्यो

वर्षायाम लाग्ने वित्तिकै उर्लिएर आउने ज्यामिरे खोलाको त्रास अब हटेको छ । पुल निर्माण भएपछी एउटा गाउँबाट अर्को गाउँ सम्म पुग्नका लागि मात्र होइनकी गढीका वासिन्दाको हेटौंडा आउन पनि समस्या थियो ।

वषौं देखि बर्षायाममा ज्यामिरे खोला ओहोर दोहोर गर्नका लागि समस्या हुने गरेको भएपनि अहिले भने सहज भएको स्थानीय वासिन्दाहरु वताउँछन् । पुल निर्माण भएपछी स्थानीय निकै हर्षित समेत भएका छन् । वर्षा लागेपछी मानिसलाई खोला तर्न पनि समस्या हुने र सवारीका साधन ओहोरर दोहोर गर्न झनै समस्या थियो । तर, अहिले पुल निर्माण भएपछी त्यो समस्या हटेको अध्यक्ष हुमागाईले वताउनुभयो ।

गढीका यी गाउँमा बने झोलुङ्गे पुल

गढी गाउँपालिकाको पहलमा गढी ४ वाइवाडाँडा र गढी ५ कालिवन जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । यसैगरी मकवानपुर गढी गाउँपालिकाका वडा नम्बर ८ ओखरडाँडा र भीमफेदी गाउँपालिकाको वडा नम्बर २ इचुङ जोड्ने झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । मकवानपुर गढी ५ सिमल्टार र गढी ४ कुसुमटार जोड्नको लागि फलामे पुल निर्माण गर्न लागिएको अध्यक्ष हुमागाईले वताउनुभयो ।

कुल ६५ लाख रुपैयाँ लागतमा पुल निर्माण गर्न लागिएको हो । सडक नभएका र अहिले तत्काल समस्या भएका स्थानमा झोलुङ्गे पुल र फलामे पुल निर्माणले प्राथमिकता पाएका छन् । थोरै मात्र गाउँलेले प्रयोग गर्ने स्थानमा झोलुङ्गे पुल निर्माण गरिएपनि धेरैलाई ओहोर दोहोर गर्ने स्थानमा भने पक्की ठुला पुल निर्माणले प्राथमिकता पाएका छन् ।

यसैगरी गढीको बागदली– देविडाँडामा स्टील ट्रस व्रिज निर्माण गर्न लागिएको छ । गाउँपालिका र संघीय सरकारको समपुरक बजेटबाट पुल निर्माण गर्न लागिएको हो । कुल ३ करोड लागतमा निर्माण गर्न लागिएको पुलमा संघीय सरकारको एक करोड १८ लाख र अरु एक करोड ८२ लाख गाउँपालिकाको लागतमा निर्माण गर्न लागिएको छ । ठेक्का मार्फत यो पुल निर्माणको काम भइरहेको छ ।

डुम्रेकुना र लामिडाँडा जोड्नका लागि १४ करोड लागतमा पुल वन्दै

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ डुम्रेकुना– गढी २ र ३ को लामिडाँडा जोड्ने पुल निर्माण पनि सुरु गर्न लागिएको छ । यसैवर्ष यो पुल निर्माणको काम सुरु गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । कुल १४ करोड रुपैयाँ लागतमा पुल निर्माण गर्न लागिएको हो ।

यो पुल निर्माण भएपछी गढीका धेरै परिवारलाई ओहोर दोहोर गर्न सहज हुने छ । यस्तै गढीको सरमपुर र तल्लोछाप जोड्ने झोलुङ्गेपुल निर्माणको काम यसैवर्ष सुरु हुने भएको छ । गढी गाउँपालिका वडा नम्बर १ र बकैया गाउँपालिका वडा नम्बर ११ जोड्नका लागि दुइवटा गाउँपालिकाको संयुक्त लगानीमा झोलुङगे पुल निर्माण गर्न लागिएको छ ।

गढीका साना खोलामा ठाउँ–ठाउँमा साना कल्भर्ट

मकवानपुर गढी गाउँपालिकाले वितेको तीन वर्षमा पनि खोला र्तन सहज होस भन्ने उदेस्यले विभीन्न वडामा साना खालका कल्भर्ट निर्माण गरेको छ । यसले गर्दा खोला, खोल्सा तर्नका लागि समस्या भोग्दै आएकाहरुलाई सहज भएको छ । चालु आर्थिक वर्षमा पनि करिव एक करोड रुपैयाँ लागतमा ५ वटा कल्भर्ट निर्माण गर्ने तयारी रहेको अध्यक्ष विदुर हुमागाईले वताउनुभयो । कल्भर्ट सानो लगानीमा बनेपनि स्थानीय वासिन्दाहरुलाई खोला र खोल्सा तर्नुपर्ने र सवारीका साधन ओहोर दोहोर गर्नका लागि समस्या भोग्नुपर्ने बाध्यता हट्ने छ ।

पुल निर्माण भएपछी खोला तर्दा बगाउने समस्या हट्यो

मकवानपुर गढी गाउँपालिकाका ८ वटै वडामा रहेका खहरे खोलाहरु र सामरी खोला ओहोर दोहोर गर्ने पुल नभएकै कारण धेरैले हरेक वर्षायाममा समस्या बेहोर्नुपर्यो । खोला तर्दा बगाएर स्थानीय वासिन्दाहरुको मृत्यु भएका घनना पनि जातै छन् । यसलाई मध्यनजर गर्दै गाउँपालिका आफै, संघ र प्रदेश सरकारको लगानीमा पुल निर्माण गरिएको अध्यक्ष हुमागाईले वताउनुभयो ।

यो तीन वर्षको अवधिमा सबै भन्दा धेरै समस्या भएका स्थानमा प्राथमिकताका साथ पुल निर्माण गरिएको हो । चालु आर्थिक वर्ष र आउँदा वर्षहरुमा प्राथमिकताका साथ पुल निर्माणको काम गरिने उहाँले वताउनुभयो । पुल नहँदा तुइन चढेर ओहोर दोहोर गर्नुपर्ने बाध्यता पनि त्यतीकै थियो । तर, अब त्यो बाध्यता पनि हट्दै गएको छ । बर्षायाममा पनि पुलबाट सवारीका साधन ओहोर दोहोर गर्न थालेका छन् ।

-जनपत्रबाट साभार



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०