Tuesday, 18th August, 2026
वि.स.

मकवानपुरको दामनमा हिउँ खेल्नेलाई अझै अवसर

मकवानपुरको दामनमा १५ माघमा परेको सेताम्मे हिउँ खेल्न जाने अवसर यसपालीलाई अधुरै रह्यो भन्ने लागेको छ भने निरास हुनु पर्दे पर्दैन, दामनको उच्च डाँडाकाँडा  र त्रिभुवन राजपथको दायाँबायाँ अझै मज्जाले खेल्न पुग्ने हिउँ छ । समुद्र सतहदेखि करीव छब्बीस सय मिटरको उचाइमा रहेको सीमभन्ज्याङ–मैत्रीबगैंचा क्षेत्रमा अझै हिउँ पग्लिएको छैन । दोस्रो पटक १५ माघमा परेको बाक्लो हिमपातले अझै केही दिन हिउँ रहने छ ।

राजधानी काठमाण्डौं र सदरमुकाम हेटौंडाबाट सजिलै र छोटो समयमा पुग्न सकिने र राजपथकै दायाँबायाँ मज्जा लिन सकिने भएकाले दामनमा हिमपात हुँदा अधिकाँश पर्यटकहरु यहाँ आउने गर्दछन् । १५ माघ विहानै हिउँ परेको खबर पाएपछि घामको झुल्कोसंगै दामन–सीमभन्ज्याङ क्षेत्रमा पर्यटकहरुको घुईचो लागेको थियो । सडकमा जमेको बाक्लो हिउँका कारण राजपथ झण्डै १३ घण्टा अवरुद्ध भएको थियो । पृथ्वी राजमार्गमा हुने जामलाई व्यहोर्नु नपरोस भनेर त्रिभुवन राजपथबाट हुँईकिएका यात्रुहरुले सडकमा हिउँ जमेपछि यातायात बन्द नव्यहोरी सुखै पाएनन् । राजविराजका अवधेश झाले हिउँले गरेको जाममा झन रमाइलो भएको सुनाए । उनले भने–‘हिउँ त पिठो जस्तो हुँदो रैछ, खेल्न मज्जा हात कटक्कै खाने ।’ उनले हिउँसंग प्रत्यक्ष छुने मौका पहिलो पटक पाएको बताए । 

दामनमा हिउँसँग लुकामारी गर्न जिल्लाका विभिन्न स्थानका अतिरिक्त वीरगन्ज, पोखरा, पथलैया, लालबन्दी, चितवन, काठमाण्डौं, धादिङ लगायतबाट पर्यटकहरु आएका थिए । १५ माघमा खासगरी युवायुवतीहरु एक अर्कामा हिउँको डल्लाले हिर्काएर, हिउँको थुप्रोमा विभिन्न आकृति बनाएर, हिउँमा चिप्लेटी खेलेर रमाइलो गरिरहेका थिए । सर्लाहीबाट स्कुटरमा काठमाण्डौं जाँदै गरेका अमिता पाख्रिन र श्रमिका लामा दामनमा हिउँ परेको खबर पाएर त्रिभुवन राजपथनै पछ्याएका थिए । ‘सीमभन्ज्याङमा सेल चपाउँदै दुवैले भने, ‘जति खेले पनि रहरै नपुग्ने रहेछ । अर्को पटक हिउँ पर्दा फेरि आउँछौं ।’  

हिउँ खेल्न आएका पर्यटकहरुका कारण सीमभन्ज्याङ क्षेत्रका होटल तथा लजहरु भरिभराउ भएका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif