nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

बालकल्याण समाजद्वारा दुई बालकको उद्धार

बालकल्याण समाज परियोजना कार्यालय पालुङले अलपत्र अवस्थामा भेटिएका दुई बालकको उद्धार गरी प्रहरीलाई बुझाएकोे छ । मकवानपुरको नामटार गाविस ढुङ्गेन घर बताउने १३ वर्षीय डानियल सुनार र १० वर्षीय विक्रम सुनारलाई टिस्टुङ गाविसको खाप्लुङबाट उद्धार गरी प्रहरीलाई बुझाइएको हो । 
बताइएअनुसार उनीहरु काठमाण्डौंबाट दुई दिनदेखि हिँडेर शुक्रबार साँझ टिस्टुङ आइपुगेका थिए । ७ पुस बिहीबार काठमाण्डौंबाट सडकैसडक हिड्दा बेलुका नौबिसे आइपुगेपछि रात परेकोले परालको कुन्युमा सुतेको उनीहरुले बताए । शुक्रबार विहान उठेर पुनः हिड्न शुरु गरेका उनीहरु उक्त दिनको साँझ ५ बजे टिस्टुङ आइपुग्दा बालकल्याण समाजका  संरक्षण परिचालक सूर्य तामाङले फेला पारेका थिए । 
‘दुईजना बालकहरु लखतरान परेर हिडिराखेका रहेछन्, शंका लागेर सोधें’ तामाङ भन्छन्, ‘नामटार जान लागेको भनेपछि उनीहरु जोखिममा छन् भन्ने लागेर परियोजना संयोजक कुमार नेगीसँग सम्पर्क गरेर कार्यालयमा ल्याएँ ।’ बाल कल्याण समाजको सम्पर्कमा आउँदा उनीहरु थकाइ र भोकले निकै समस्यामा देखिएको संयोजक नेगीले बताए ।  बाल कल्याण समाजले टियरफण्डसँगको साझेदारीमा मकवानपुरको आग्रा र टिस्टुङ गाविसमा जोखिममा परेका मानिसहरुको संरक्षणको कार्य गर्दै आइरहेको छ । 
‘हामीले दुई दिनदेखि पानीबाहेक केही खाएका थिएनौं र हिँड्न नसक्ने अवस्थामा पुगिसकेका थियौं’ १३ वर्षीय सुनार भन्छन्, ‘संस्थाको सम्पर्कमा आइनपुगेको भए हामी मथ्यौं होला ।’ 
उनीहरुले बताए अनुसार उनीहरु ६ पुसको विहान नामटारबाट हेटौंडा जाने बस चढे  र त्रिभुवन राजपथको चुनियाँ मोडमा ओर्ले । त्यसपछि उनीहरु हेटौंडाबाट त्रिभुवन राजपथ हुँदै काठमाण्डौं जाने बस चढे ।  काठमाण्डौं कलंकी साँझ पाँच बजेतिर ओर्लेका उनीहरु चक्रपथ परिक्रमा गर्ने बस चढेर चाबहिल पुगे । विक्रमको अर्को आमापट्टीको भाउजुको घर चावहिल भएकाले उनीहरु चाबहिल पुगेका थिए ।  चाबहिल पुगेपछि सोध्दैखोज्दै राती ८ बजेतिर भाउजु बस्ने घरमा पुगे । 
खास उनीहरु काठमाण्डौंमा दिदी भेट्न गएका थिए ।  विगत ७ वर्षदेखि काठमाण्ठौंडामा गलैंचा बुन्न बसेकी दिदीले भेट्न बोलाएको भए पनि काठमाण्डौं पुगेर फोन गर्दा दिदीको मोबाइल स्वीच अफ भएपछि उनीहरु निरास भएर भाउजुको कोठामा पुगेका थिए । डानियलको १७ वर्षीय दिदी केही दिन अघि विहे गरेर गएको उनीहरुले विक्रमको भाउजुबाट थाहा पाएका थिए । भाउजुको कोठामा एक रात बसेर विहानै उनीहरु घर फर्किन हिँडे । 
‘हामी चाबहिलदेखि नै हिडेका हौं, कलंकी भन्ने आउँदा दुई घण्टा वितिसकेको थियो’ उनीहरु भन्छन् । डानियल पहिलोपटक काठमाण्डौं गएका थिए भने विक्रमको दोस्रोपटक थियो । कलंकीबाट हिँड्ने क्रममा डानियलको मोबाइल सेट हराएपछि उनीहरु पूर्णरुपमा बेखबर बनेका थिए । ‘मोबाइल पनि हरायो, गोजीमा पैसा पनि थिएन, अनि हिँडेरै घर पुग्ने भनेर अघि बढ्यौं,’ डानियलले भने । नामटारबाट हिँड्दा उनीहरुको साथमा दुई सय रुपैया थियो । 
दोस्रो दिनको साँझ टिस्टुङमा भेटिँदा उनीहरु काठमोडौंको चाबहिलदेखि झण्डै ७५ किलोमिटर पैदल हिँडिसकेका थिए । नामटार पुग्न अझै उनीहरुलाई ६० किलोमिटर हिँड्नु आवश्यक थियो । पालुङ–महाभीर खण्डमा अत्याधिक चिसो भएर राती तुषारो जम्ने भएकाले ती बालकहरु निकै जोखिममा थिए । 
बालकहरुसँग कुराकानीको आधारमा बाल कल्याण समाजले उनीहरुको परिवारसँग सम्पर्क गर्ने प्रयास गरे पनि सफल हुन नसकेको नेगीले बताए ।  नामटारका समाजसेवी राजेन्द्र थिङका अनुसार उनीहरुको खास घर डाँडाखर्क हो । डानियलले आफू फुपूको घरमा बस्दै आएको, आमा कालिकाटारमा बस्ने गरेको र बाबु अढाइ वर्षदेखि मलेसियामा रहेको बताए । 
बाल कल्याण समाजको कार्यालयमा आइपुगेका उनीहरुलाई आवश्यक परामर्श सेवा दिई इलाका प्रहरी कार्यालय पालुङमा बुझाइएको हो । उनीहरुको ठेगाना  र परिवार पत्ता लगाई परिवारको सम्पर्कमा पु¥याइने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्र पनेरुले बताए । 
बताइए अनुसार डानियल कालिका माविको कक्षा ६ मा पढ्छन् भने विक्रम सोही माविमा कक्षा १ मा पढ्छन् । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)