Wednesday, 1st July, 2026
वि.स.

बकैया गाउँपालिकाको जोखिम अवस्थाका लागि तथ्याङ्क लिइदै 

talim-1519872114.jpg

मकवानपुरको बकैया गाउँपालिकाको जोखिमको अवस्थाको तथ्याङ्क लिइने भएको छ । गाउँपालिकाको हरेक क्षेत्रको जोखिमको अवस्था विश्लेषण गर्दै जोखिम न्यूनीकरणका लागि आवश्यक योजना तर्जुमाका लागि बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालको सहयोगमा तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । 

तथ्याङ्क लिनका लागि बकैयाको १२ वटै वडाका लागि फिल्ड सहजकर्ता तयार पारिएको छ । जोखिमको अवस्थाबारे तथ्याङ्क सङ्कलनका लागि बकैया गाउँपालिकाका २१ जना सहजकर्ता छनौट गरि ‘स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना सम्बन्धि तीन दिने तालिम’ समेत दिइएको छ । बकैया गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी छतिवन उपशाखासंगको समन्वयमा बाल कल्याण समाज मकवानपुरले मर्सिकार नेपालको सहयोगमा सहजकर्तालाई तालिम प्रदान गरेको हो । मकवानपुरको हेटौंडामा तीन दिनसम्म सञ्चालित तालिमका सहभागी अब आफ्नो कार्यक्षेत्र फर्किएर जोखिम अवस्थाका विषयमा तथ्याङ्क सङ्कलन गर्नेछन् । ‘तालिम प्राप्त सहजकर्ता अब गाउँपालिकाका वडा–वडा पुगेर हरेक क्षेत्रमा रहेको जोखिमको अवस्था सङ्कलन गर्नेछन् । ’ बाल कल्याण समाज मकवानपुरले सञ्चालन गरिरहेको भूकम्पीय पुनर्लाभ कार्यक्रमका परियोजना अधिकृत रामप्रसाद दाहालले भने,‘जोखिमताको अवस्था पत्ता लगाइसकेपछि जोखिम न्यूनिकरणका लागि आवश्यक योजना तयार पार्न सघाउ पुग्नेछ ।’ परियोजना अधिकृत दाहालका अनुसार तथ्याङ्क सङ्कलनबाट गाउँपालिकाको जोखिमको अवस्थाबारे जानकारी हुनाका साथै जोखिम व्यवस्थापनका लागि आवश्यक योजना निर्माणका लागि सहयोग पुग्नेछ । 

गाउँपालिका, वडा कार्यालयको समन्वयमा काम हुने भएकाले समग्र बकैया गाउँपालिकाको वास्तविक जोखिमताको अवस्था पत्ता लगाउनका लागि तथ्याङ्क सङ्कलनको तयारी गरिएको उनले बताए । आफूहरुले स्थानीय तहसंग समन्वय गरेर काम गरिने भएकाले थप प्रभावकारी काम हुने तालिम आयोजक बालकल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बताए । ‘हामीले गर्ने हरेक परियोजनाको कार्यमा स्थानीय तह, जनप्रतिनिधी लगायत सम्बन्धित पक्षसंग समन्वय हुने भएकाले हाम्रा सामाजिक अभियान सफल भएका छन् । ’खतिवडाले भने,‘ जोखिमताको अवस्था पहिचान गर्नका लागि बकैयामा सुरु गरिएको तथ्याङ्क सङ्कलन कार्यले बकैया गाउँपालिकालाई जोखिमको अवस्था जानकारी हुनाको साथै योजना निर्माण गर्न सघाउ पुग्नेछ । ’ 

बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रबन्धक कमल फुयालले  नौ महिनाका लागि सञ्चालित ‘भूकम्पीय पुनर्लाभ परियोजना’ वित्तिय साक्षरता तालिम, संरचना निर्माण सहयोग,प्राथमिक उपचार तालिम, विपद्बाट बस्ती बचाउन ग्याबिन तार, सहकारी व्यवस्थापन लगायत कार्यका लागि प्रभावकारी बनिरहेको बताए । परियोजनाबाट प्रदान गरिने विभिन्न तालिम तथा जागरणमूलक अभियानले छतिवनको मुहार फेर्ने परियोजनाका लेखा अधिकृत केशव दाहालले विश्वास व्यक्त गरे । 

गाउपालिकाको जोखिमको अवस्था पहिचान गर्नका लागि प्रदान गरिएको सहजकर्ता तालिम समापनमा बालकल्याण समाजका अध्यक्ष डा. गणेश बल लामा, नेपाल रेडक्रस सोसाइटी छतिवन, विपद् व्यवस्थापन समिति संयोजक हरिहर खनाल लगायतले आफूले तालिमबाट सिकेको शिप प्रयोग गर्न सहजकर्तालाई सुझाव दिए ।   

शिव चौलागाईं, मकवानपुर  । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०