Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङको दशै घरमा सलामी सहित 'फुलपाती' भित्र्याइयो

पालुङको ऐतिहासिक दशै घरमा वर्षौदेखि तोडिएको परम्परा ब्युताउँदै यसवर्ष फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित दशै घरमा भित्र्याइने परम्परा रहेको भए पनि बढाइ गरी सलामी सहित फुलपाती भित्र्याउने परम्परा लोप भइसकेको थियो । यसवर्ष स्थानीय सरकार गठन भइसकेपछि जनप्रतिनीधिहरुको उपस्थितीमा इलाका प्रहरी कार्यालय पालुङले शुभ साइतमा सलामी दिई दशै घरमा फुलपाती भित्र्याइएको हो । 

आग्राको चल्तीबाट अर्यालहरुले पालुङको मत्स्यनारायणसम्म बेलपत्र सहितको फुलपाती ल्याउने र त्यहाँबाट स्थानीय मगर, नेवार, भुजेल, ब्राम्हण सहितको सातजना कर्ताहरुले पालुङको फुलपाती चौरसम्म बाजागाजा सहित ल्याउने परम्परा छ । डोलीमा राखेर हर्षोल्लासका साथ ल्याइने फलुपातीले थाहानगरमा दशैं आएको संकेत गर्दछ । 

दशैमा मात्र प्रयोगमा आउने पालुङको खोला किनारामा रहेको उक्त चौरलाई सबैले फुलपाती चौरको नामले चिन्छन् । फुलपाती चौरमा ल्याइएको फुलपातीलाई पुजाविधि अनुसार शुभ साइतमा बली सहित सलामी दिएपछि पालुङको दशै घरमा फुलपाती भित्र्याउने पुरानो चलन हो । यसवर्षबाट ब्युतिएको शुभ साइतको सलामीको कार्यक्रमलाई इलाका प्रहरी कार्यालय पालुङका प्रमुख विरेन्द्र पासवानले संयोजन गरेका थिए । 

परापूर्व कालदेखि देखि नै संचालन हुँदै आएको परम्परा तत्कालिन प्रधानपञ्चको नेतृत्वमा हु“दै आएको भए पनि मुलुकमा बहुदल आएपछि दामनपालुङ आर्थिक विकास सहयोग समितिले व्यवस्थापन गर्दै आएको थियो । पालुङ स्थित दशै घरमा फुलपाती भित्र्याएपछि स्थानीयहरुले घरघरमा फुलपाती लगेर आफ्नो घर–घरमा लगि भित्र्याउने परम्परा छ । 

संस्कृति र परम्परा जोगाउँदै धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा नगरलाई विकास गर्न समेत सघाउ पुग्ने भएकोले पुरानो परम्परा ब्युताउनको लागि पहल थालिएको नगर प्रमुख लवशेर विष्टले प्रतिक्रिया दिए । पुरानो परम्परामा नै पहिचान हुने भएकोले यस्तो चालचलन जोगाउन सँधै प्रतिवद्ध हुने वडा अध्यक्ष गुग्त बहादुर कार्कीले जानकारी दिए । 

फुलपाती भित्र्याउने कार्यक्रम थाहा–२ का वडा अध्यक्ष गुप्त बहादुर कार्कीको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा वडा सदस्यहरु, इलाका प्रमरी कार्यालय पालुङका प्रमुख विरेन्द्र पासवान, भूतपूर्व सैनिक संघ मकवानपुरका कमल कुमार केसी, पाण्डु केश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल, नेकपा एमाले थाहानगर सचिवालय सदस्य अच्युतम प्रसाद ढकाल, ज्ञानेश्वर ढकाल, पूर्व जनप्रतिनीधि श्यामभक्त श्रेष्ठ तथा पत्रकार र सुरक्षा निकायको उपस्थिती उपस्थिती रहेको थियो । 

दशै घरमा घटस्थापनाको दिन स्थानीयहरुले सामुहिक जमरा राखेका छन् । 

पालुङको दशै घरमा महाअष्टमी राती कालरात्री गरिन्छ । महानवमीको दिन दशे घर नजिकैको कोतमौलामा कोतपुजा र विजयादशमीको दिन टीका तथा जमराको कार्यक्रम समेत रहेको थाहा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गुप्त बहादुर कार्कीले विकासखबरलाई जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०