Thursday, 2nd July, 2026
वि.स.

पाण्डुकेश्वर मन्दिर पुनर्निर्माणको शिलान्यास

pandukesor-1523341041.png

मकवानपुरको पालुङलाई चिनाउने ऐतिहासिक, धार्मिक र पुरातात्विक आधारमा महत्वपूर्ण  पाण्डुकेश्वर मन्दिर पुनर्निर्माणको शिलान्यास गरिएको छ । २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पले क्षतिग्रस्त भएपछि पाण्डुकेश्वर मन्दिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा पुनर्निर्माण हुन लागेको हो । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले सोमबार पाण्डुकेश्वर मन्दिरको नयाँ भवनको शिलान्यास गरेका हुन् । मन्दिर पुनर्निर्माणको शिलान्यास गर्न पुरातत्व विभागका महानिर्देशक दाहालको नेतृत्वमा उपमहानिर्देक मन्दादेवी  श्रेष्ठ, डिभिजन इन्जिनियर सम्पत घिमिरे लगायतको टोली पालुङ आइपुगेको थियो । त्यस्तै थाहानगरका प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, मन्दिर रहेको वडाका वडाध्यक्ष गुप्त कार्की लगायत सो कार्यक्रममा उपस्थित थिए । विभागले पाण्डुकेश्वर मन्दिर पुनर्निर्माणका लागि १ करोड २१ लाख ९१ हजार दुई ३६ रुपैया विनियोजन गरेकोमा १ करोड १७ लाख ९२ हजार बराबरको ठेक्कामा निर्माण सक्नेगरी धर्म–यस÷छाँयाश्वरी जेभी कम्पनी भक्तपुरलाई जिम्मा लगाइएको हो । उक्त कम्पनीले पुरातात्विक महत्वका यस्ता दर्जनौं भवनहरु निर्माण गरिसकेको छ ।  

    विभागले काठमाण्डु, रामेछाप, दोलखा र रामेछापमा पनि यस्ता पुरातात्विक महत्वका मन्दिर, संरचना र सम्पदाहरुको पुनर्निमाण गरिरहेको छ  । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाण्डुकेश्वर मन्दिर पुनर्निर्माण कार्यक्रमलाई स्वीकृत गरेपछि पुरातत्व विभागले यसका लागि थप प्रक्रिया अघि बढाएको थियो । पुनर्निर्माण हुँदै गरेको मन्दिरको शिलान्यास समारोहमा बोल्दै पुरातत्व विभागका महानिर्देशक दाहालले भने, ‘पालुङका शम्भु ढकालले पनि कुरा राख्नु भयो, गोरखनाथ मन्दिरको शिलान्यासमा पनि आएको थिए, त्यहीबेला पाण्डुकेश्वरको महत्वको बारेमा जानकारी लिएका थिएँ, आज शिलान्यास गर्न पाउँदा खुशी लागेको छ ।’ 
    पाण्डुकेश्वर पुनर्निर्माण कार्यक्रम स्वीकृत गर्नु अघि राष्ट्रिय पुनर्निर्माण प्रधिकरण र पुरातात्विक विभागले पाण्डुकेश्वर मन्दिरमा भूकम्पको क्षति र पुनर्निर्माणको औचित्यबारे विस्तृत अध्ययन गरेको थियो । 
    २०७२ सालको भूकम्पले पाण्डुकेश्वर मन्दिरको तला नै कोल्टे परेको थियो ।  विशेषगरी हरितालिका तीज र हिन्दूका आराध्यदेव महादेवको पर्व, तिथि र बारहरुमा घुईंचो लाग्ने यो मन्दिर भूकम्पले नाजुक भएपछि उक्त मन्दिरको संरक्षण र विकासमा सक्रिय रहँदै आएको पाण्डुकेश्वर क्षेत्र विकास समितिले यसको पुनर्निर्माणमा विशेष चासो देखाउँदै आएको थियो । हालको मन्दिर तीन तलाको रहेकोमा अब बन्ने मन्दिर दुई तलाको मात्र हुने छ । त्यस्तै अहिले प्रत्येक साइडमा एउटा मात्र झ्याल रहेकोमा अब तीन÷तीन वटा झ्याल हुनेछ । मन्दिर पूर्णतः पुरातात्विक डिजाइनको हुने पुुरातत्व विभागका इन्जिनियर घिमिरेले बताए । 
    ‘यो मन्दिर पुरम्परागत सामग्रीको प्रयोग गरेर बनाइने छ । यसमा ढुंगा, परम्परागत इट्टा, चुनासुर्की आदिको प्रयोग गरेर भूकम्प प्रतिरोधी बनाइने छ, आधुनिक सामग्रीको प्रयोग गरिने छैन,’ उनले भने । निर्माण कम्पनीलाई त्यही अनुसार बनाउन निर्देशन दिइएको र यसको आवश्यक निगरानी र नियन्त्रणमा स्थानीय समितिको विशेष भूमिका हुने उनले औंल्याए । 
    ५ फिटको फाउण्डेशन र ३१ फिट उचाइको हुने मन्दिरको छाना भने जस्ताको डिजाइन गरिएको छ । कार्यक्रममा बोल्दै जस्ताको ठाउँमा तामाको छाना राख्ने गरी सहयोग गर्न थाहानगरका प्रमुख लवशेर विष्टले आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै विष्टले भने, ‘तामाको छानो राख्दा यसको गरिमा नै बेग्लै हुन्छ, त्यसैले जस्ताको ठाउँमा तामाको पाताको छानो हाल्ने गरी व्यवस्था गरिदिन म महानिर्देशकज्यूलाई आग्रह गर्छु ।’ विष्टपछि बोलेका महानिर्देशक दाहालले जवाफमा भने, ‘म हुन्छ नै त भन्दिन, तर यसको स्टमेट गर्न डिई साबलाई भनिसकेको छु, मबाट हुन सक्ने पहल हुन्छ ।’ पाण्डुकेश्वर मन्दिर पुननिर्माणसँगै परिसरमा ढुंगा विछ्याउने कार्यका लागि पनि सहयोग गर्न नगरप्रमुखले विभागमा महानिर्देशकलाई आग्रह गरेका थिए । शिलान्यास कार्यक्रम पाण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल ठकुरीको अध्यक्षतमा भएको थियो । शिलान्यासको क्रममा पण्डितहरुले मन्त्र उच्चारण गरेका थिए । 
    पाण्डुकेश्वर मन्दिर पाण्डुक ऋषिले स्थापना गरेको विश्वास गरिन्छ । पाण्डुक ऋषिले शिवको आरधाना तपस्या गर्दा सिद्ध प्राप्त गरेको र शिब ज्योतिस्वरुपमा प्रकट भएको विश्वास 
छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०