Wednesday, 1st July, 2026
वि.स.

दोस्रो किस्ताका लागि ७ अर्ब निकासा

अर्थ मन्त्रालयले भूकम्पपीडितलाई दोस्रो किस्ता अनुदान रकम वितरणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई ७ अर्ब ३० करोड रुपैयाँ निकासा गरेको छ ।

प्राधिकरणले माग गरेको २८ अर्ब रुपैया मध्ये खर्च शीर्षक मिलाएर पहिलो चरणमा अर्थले आइतबार रकम निकासा गरेको सहसचिव एवं बजेट महाशाखा प्रमुख मधुकुमार मरासनीले जानकारी दिए । । उनका अनुसार बाँकी २१ अर्ब रुपैयाँ पनि निकासाको प्रक्रियामा छ ।

पुनर्निर्माण कोष परिचालन हुने गरी उक्त रकम अर्थले निकासा गरेको हो । गत माघ ४ गते बसेको बैठकको निर्णय अनुसार प्राधिकरणले अर्थ मन्त्रालयसंग २८ अर्ब रुपैयाँ माग गरेको थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेलले अर्थ मन्त्रालयले निकासा गरेको रकम भूकम्प प्रभावित सवै जिल्लामा पठाइने बताए । अर्थले ७ अर्ब निकासा गरेको छ, पोखरेलले भने, बाँकी २१ अर्ब रुपैया पनि पर्सीसम्म निकासा दिने भनेर जानकारी आएको छ, प्रक्रियागत कठिनाईका कारण अनुदानको दोस्रो किस्ता बितरणमा ढिलाई नहोस भनेर सवै रकम जिल्ला पठाउने गृहकार्यमा छौं ।’

अहिलेसम्म पहिलो किस्ताको अनुदान पाएका मध्ये करिब १९ हजार बढीले घर पुननिर्माणको जग निर्माण गरी दोस्रो किस्ता माग गरेका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले दोस्रो किस्ता वापतको अनुदान रकम निकासा गरिएपनि घर पुननिर्माणको जग निर्माण पुरा गरेकालाई मात्र दोस्रो किस्ताको अनुदान रकम बितरण गरिने अनलाइनखबरमा समाचार प्रकाशित छ ।