thahatimes-ad-thekka-1731652826.jpg
Friday, 13th December, 2024
वि.स.

थाहा फिल्म फेस्टिभलमा प्रदर्शनी सूचीमा रहेकाे ‘को–हजबेण्ड’ले जित्यो क्यानडामा उत्कृष्ट अवार्ड

IMG_20231119_080250-1700360288.jpg

नेपालकाे बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्) ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ । याे वृत्तचित्र आगामी ९ मंसिरबाट शुरु हुने थाहा फिल्म फेस्टिवलमा प्रदर्शनीकाे सूचीमा रहेकाे छ ।

क्यानडाको टोरोन्टोमा आयोजित ३६ वर्ष पुरानो प्रतिष्ठित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले तीन सय अमेरिकी डलरसहित आज उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो ।

मेट्राे टोरोन्टो सम्मेलन केन्द्रमा २ मंसिरमा आयोजित अवार्ड समारोहमा फिल्म फेस्टिबलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एशोशिएट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एशोशियट प्रोफेसर क्रिश्चियन ह्यामन्सले को–हजबेण्डका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

अवार्ड समारोहमा प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष विश्वम्भर घिमिरे पनि सहभागी थिए । अमेरिकन एन्थ्रोपोलिजिकल एशोशियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ वर्षदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ ।

अमेरिका र क्यानडासहित विश्वका विभिन्न देशबाट ५ हजार जना मानवशास्त्रीहरुको सहभागितामा यसवर्ष टोरोन्टो सम्मेलन केन्द्रमा सम्मेलनका साथै फिल्म र मिडिया महोत्सव भइरहेको छ ।

उक्त महोत्सवमा संसारभरिबाट मानव शास्त्र र समाजशास्त्रसँग सम्बन्धित हजारौँ चलचित्र तथा वृत्तचित्रहरूको प्रतिस्पर्धामा उत्कृष्ट ठहर गरी नेपालको विशिष्ट परिवेशमा बनेको जीवन्त वृत्तचित्र को–हजबेण्डलाई उत्कृष्ट अवार्ड घोषणा गरिएको थियो ।

‘विश्वका प्रतिष्ठित प्राध्यापक र मानवशास्त्रीहरुको माझमा पुरस्कार थाप्न पाउँदा निकै खुसी र गर्व लागेको छ । नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफैमा गर्वको कुरा हो । अझ त्यसमा पनि अमेरिका र क्यानडाका क्याम्पस र विश्व विद्यालयमा को–हजबेण्डलाई सन्दर्भ सामाग्रीका रुपमा पठनपाठनमा सहभागी गराइदिने भएको कुरा थाहा पाउँदा निकै खुसी लागेको छ’, निर्देशक पाण्डेले भने ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो ।

यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०