nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा स्काउटको आधारभूत तालिम शुरु, २५ विद्यालय सहभागी

btc1-1659359563.jpg

नेपाल स्काउटको थाहा नगरपालिका स्थानीय समितिले ६ दिने आधारभूत तालिम शुरु गरेको छ । थाहा नगरपालिका वडा नम्बर १ स्थित झम्केश्वरी माविमा १६ साउन सोमबारबाट तालिम शुरु गरिएको हो ।

थाहा नगरपालिकाका आधारभूत र माध्यमिक विद्यालयहरुलाई लक्षित  गरी तालिमको आयोजना गरिएको स्थानीय स्काउट कार्यालय थाहा नगरपालिकाका संयोजक गणेशमान श्रेष्ठले जानकारी दिए । पाँच रात छ दिनमा सम्पन्न हुने तालिममा थाहा नगरपालिकाका आधारभूत र माध्यमिक तहको पठनपाठन हुने सबै विद्यालयको सहभागिता रहेको छ । तालिममा थाहा नगरपालिकाका १९ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालयका शिक्षकहरु, स्थानीय स्काउट समिति र समुदायबाट गरी ६४ जनाको सहभागिता रहेको छ । सहभागी मध्ये महिला र पुरुषको सङ्ख्या आधा–आधा रहेको आयोजकले जानकारी दिएको छ । तालिममा चितवनका दुई जनाको सहभागिता रहेको छ ।

तालिममा पुरुषतर्फका कोर्शलिडर प्रमोद सिग्देल र महिला तर्फका कोर्शलिडर मुना तामाङ लामाले नेतृत्व गरिरहेका छन् भने अशोक सारु मगर र सुमित्रा लामाले प्रशिक्षणमा सघाइरहेका छन् । त्यसैगरी यसअघि आधारभूत तालिम लिइसकेका ८ जना काउन्सिलरहरु पनि सहजीकरणमा खटिएका छन् । विहान ६ बजेदेखि राती १० बजेसम्म सञ्चालन हुने आवाशीय तालिमका लागि १२ जनाको स्काउट टिमले भोजन, आवास तथा अन्य व्यवस्थापनमा सहयोग गरिरहेको छ ।

स्थानीय स्काउट समितिका संयोजक श्रेष्ठका अनुसार थाहा नगरपालिका र मातहतका शाखाहरु, स्थानीय संघसंस्था, निजी क्षेत्र र व्यक्तिहरुबाट सहयोग जुटाएर तालिम सञ्चालन गरिएको हो । तालिमका लागि अहिलेसम्म नगरपालिकाको विपद व्यवस्थापन शाखाबाट चामल र तेल, शिक्षा शाखाबाट रु. ७ हजार बराबरको स्टेशनरी सामग्री, स्वास्थ्य शाखाबाट प्राथमिक उपचार सामग्री र स्वास्थ्यकर्मी, पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाबाट डायरी, कलम र क्लियर ब्याग सहयोग प्राप्त भएको संयोजक श्रेष्ठले बताए । त्यसैगरी, गीताराम केसी, नरेन्द्र अधिकारी, दिपेन्द्र विष्ट, हरि विष्ट, सुदिप अधिकारी, विनोद ढकाल, मधुकर कार्कीसहितको समूहबाट १०० केस मिनिरल वाटर प्राप्त भएको पनि उनले जानकारी दिए । ओखरबजार निवासी धर्म प्रधानले प्याज र मसला, कुटीप्वाकल निवासी अमृत गोलेले ३० किलो आलु, ओखरबजार निवासी हरिहर श्रेष्ठले मसला, रमेश लामिछानेले हरियो तरकारी र सुविसु होमस्टे चित्लाङले सहभागीहरुलाई नुहाउने र भाँडा माझ्ने साबुन सहयोग गरेका छन् ।

श्रेष्ठ वेयर सर्टिङ–सुटिङ टेलरिङ वागबजारका नरेन्द्र श्रेष्ठ, बज्रवाराही बचत तथा ऋण सहकारी संस्था र अध्याय रिसोर्टले भने नगद सहयोग गरेका आयोजकले जनाएको छ ।

तालिमका लागि विहानको खाजा, कुखुराको मासु, मायाको चिनो, प्रशंसापत्र, हरियो तरकारी, माछा, खसीको मासु लगायत सहयोगको प्रतिवद्धता भइसकेको संयोजक श्रेष्ठले जानकारी दिए । सबै सहयोग, आम्दानी तथा खर्चको २१ साउनमा हुने तालिम समापन कार्यक्रममा सार्वजनिक परीक्षण(पब्लिक अडिट) गरिने उनले बताए ।

तालिम समापन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीलाई स्काउटबाट दिक्षित गर्ने कार्यक्रमसमेत रहेको आयोजकले जनाएको छ । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)