Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा चार शीत भण्डार ! कुन के अवस्थामा छन् ?

मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा कोल्ड स्टोर (शीत भण्डार)को संख्या ४ वटा हुने भएको छ । आलु तथा तरकारीबालीमा ख्याती प्राप्त थाहानगरमा कोल्ड स्टोरको माग बढेसंगै यसको संख्या पनि बढेको हो । तत्कालिन जिल्ला कृषि विकास कार्यालय    मकवानपुरको सहयोगमा गाउँ–गाउँमा साना शीत भण्डारहरु निर्माण भएको भएपनि कृषकको माग धान्न नसक्ने भएपछि स्थानीय तह, सहकारी, तथा निजीक्षेत्रको समेत लगानीमा कोल्ड    स्टोरहरु निर्माण हुन थालेका हुन् । थाहानगरमा सबैभन्दा बढि क्षमताको शीत भण्डार थाहा–३ को विकास चौरमा निर्माणाधिन छ । उक्त थाहानगर शीत भण्डारको निर्माण तीब्र गतिमा अघि   बढिरहेको छ । नगर क्षेत्रमा उत्पादीत   तरकारी लामो समयसम्म टिकाइ राख्नका लागि शीत भण्डार निर्माण प्रक्रिया अघि बढाइएको हो । विशेषगरी आलुको विउ    राख्न तथा  उत्पादित आलु शीत     भण्डारको अभावमा कुहिएर खेर जाने, किसानले उचित मूल्य नपाउने र काठमाडौंमा बढी मूल्य तिरेर भण्डारण गर्नुपर्ने समस्याको अन्त्य गर्न कोल्ड    स्टोरको निर्माण थालिएको हो । 

निर्माणाधिन थाहा शीत भण्डार, थाहा–३ ।कार्तिक २०७५ बाट निर्माण सुरु गरिएको शीत भण्डार गत महिना भदौबाट संचालनमा ल्याउने लक्ष्य लिइएको थियो । तर, कोरोनाका कारण कामदार घर फर्किएको र भवन निर्माण सामाग्री नपाउँदा केहि समय ढिलाइ हुँदा २०७८ बाट संचालनमा आउने नगर प्रमुख लवशेर बिष्टले बताए । थाहा नगरपालिकास्थित विकास चौरमा १५ रोपनी क्षेत्रफलमा निर्माण थालिएको शीत भण्डार भवन र मेसिनसहित १५ करोड ८७ लाख लागत अनुमान गरिएको छ । थाहा नगर, कैलाश र इन्द्रसरोवर गाउँपालिकामा उत्पादित तरकारी भण्डारणका लागि निर्माणाधिन शीत भण्डार संचालनमा आएपछि त्यस क्षेत्रका शत प्रतिशत किसान लाभाम्भित हुने बिष्टको दाबी छ । निर्माणका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशको ७० प्रतिशत अनुदान र त्यस क्षेत्रमा संचालित २७ वटा सहकारीहरुको ३० प्रतिशत लगानी छ । मन्त्रालयले ८ करोड ३ लाख रुपैयाँ अनुदान दिएको छ ।
   शीत भण्डार नहुँदा त्यस क्षेत्रका      करिब ८५ प्रतिशत किसानले समस्या भोग्नु परेको बिष्टको भनाइ छ । अन्यत्र भण्डारण गर्दा एक किसानले ५० किलोको ६ सय रुपैयाँसम्म तिनुपर्ने बाध्यकारी अवस्थाका कारण ठूलो आर्थिक भार खेप्नु परेको उनले प्रतिक्रिया दिए । शीत भण्डार संचालनमा आएपछि एक पटकमा १७ सय मेट्रिक टन भण्डारण गर्न सकिने    र ७ महिनासम्म राख्न सकिने बिष्टले जानकारी दिए । शीत भण्डारबाट ५० हजार बढी किसानलाई प्रत्यक्ष प्रभाव पार्ने नगरपालिकाको अनुमान छ ।

साना किसान केन्द्रित शीत भण्डार

थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको साना किसान कृषि सहकारी संस्थाले ३ वर्षअघिबाट शीतभण्डार संचालन गर्दै आएको छ । नेपाल   सरकारको २० लाख र सहकारीको करिब ६० लाख रुपियाँको लागतमा कोल्ड स्टोर निर्माण गरिएको व्यवस्थापक ध्रुव  विडारीले जानकारी दिए ।  

थाहा–६ मा साना किसानले संचालन गरेको शीत भण्डार ।शीतभण्डारमा सहकारीमा आवद्ध कृषकहरुले प्रत्येक्ष लाभ लिइरहेको व्यवस्थापक ध्रुव विडारीले जानकारी दिए । उनले भने–‘आगामि वर्षबाट भने खुल्ला सुचना गरिनेछ ।’ ५५ टन क्षमताको सो शीत भण्डारमा मुख्य गरी आलु राख्ने गरिएको छ । 

सहकारीले संचालन गरेको उक्त शीत भण्डारबाट वार्षिक करिब तीनसय किसानले लाभ लिइरहेको व्यवस्थापक विडारीले बताए । शीतभण्डारमा कृषि जे.टि.ए. एकजना सहित दुईजनाले पूर्णकालिन र ६ जनाले आशिंक रोजगार समेत पाएका छन् ।

अघि सर्दै मैना

कोल्ड स्टोर (शीतभण्डार) नभएर सास्ती खेपेका थाहा नगरपालिका किसानलाई थाहा–२ मा संचालनमा आएको मैना कृषि सेवा प्रालिले सेवा शुभारम्भ   गरेको छ । फाँटबजारमा निर्माणसंगै संचालनमा समेत अघि सरेको मैनाले चालु आर्थिक वर्षबाटै कोल्ड स्टोर पनि संचालनमा ल्याएको छ । 

थाहा–२ मा निर्माणसंगै संचालनमा आएको मैना शीत भण्डार ।‘३ करोडको लगानीमा कोल्ड स्टोर सञ्चालनमा आएको हो,’ मैना कृषि सेवा प्रालिका सञ्चालक राधाकृष्ण विष्टले भने,‘चेम्बर प्रविधिको शीतभण्डारले ३ रोपनीको क्षेत्रफल ओगटेको छ ।’ १२ हजार बोराको क्षमताको शीत भण्डारले आलु, प्याज र गोलभेडाको भण्डारण गर्न सकिने भएको छ । ’भण्डार सञ्चालनमा आएपछि चर्को मूल्यमा तिरेर जिल्ला बाहिर लगेर भण्डारण गर्नुपर्ने समस्या हट्ने संचालक विष्टले बताए । 

उनले भने,‘स्थानीय स्तरमा उत्पादित आलुको भण्डारण गरी बजारमा आलुको माग भएका बेला बिक्री गर्न सकिने भएकाले कृषकले उचित मूल्य प्राप्त गर्ने लक्ष्य सहित शीत भण्डार बनाएका हौँ ।’ भण्डारबाट पाँचजनाले प्रत्येक्ष रोजगार पाउने र थाहानगरका करिव एक हजार किसान लाभान्वित हुने उनको भनाइ    छ ।

थाहा–४ मा निर्माण थालिएको १६ वर्षमा पनि सम्पन्न हुन नसकेको ऋषेश्वर शीत भण्डारको अलपत्र भवन ।यसैबीच थाहा नगरपालिका वडा नम्बर ४ मा आ.व. २०६/०६१ बाट निर्माण थालिएको ऋषेश्वर शीत भण्डार अझै पूर्ण हुन सकेको छैन । निजी क्षेत्रको समेत लगानीमा निर्माण प्रारम्भ भएको उक्त शीत भण्डार अलपत्र अवस्थामा रहेको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०