Friday, 3rd July, 2026
वि.स.

थाहानगरमा क्वारेन्टाइन बनाउन ओम रिसोर्ट र नगरपालिकाबीच सम्झौता

मकवानपुरको थाहा नगरपालिकास्थित ओम अध्याय रिट्रिट रिसोर्टलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएका बिरामीहरुलाई राख्ने क्वारेन्टाइनको रुपमा प्रयोग गरिने भएको छ । क्वारेन्टाइन बनाउनका लागि रिसोर्ट सञ्चालकले २८ वटा कोठा थाहा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका छन् ।

रिसोर्टलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने सम्बन्धमा थाहा नगरपालिका र ओम अध्याय रिट्रिट रिसोर्टबीच १३ चैतमा सम्झौता भइसकेको छ । सम्झौता पत्रमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र रिसोर्ट सञ्चालक ललितसिंह ठकुरीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार क्वारेन्टाइनका लागि आवश्यक औषधिलगायतका स्वास्थ्य उपकरण, जनशक्ति, रिसोर्टमा रहनेहरुका लागि खाना, दैनिक सरसफाइ र सुरक्षा प्रवन्ध नगरपालिकाले नै व्यवस्था गर्ने छ ।

रिसोर्टले क्वारेन्टाइनका प्रत्येक कोठामा आवश्यकता अनुसार सिरक तथा ब्ल्यांकेटको व्यवस्था गरिदिने छ । कोरोना भाइरसको महामारीको बेला अट्याच बाथरुमसहितका २८ वटा कोटा निःशुल्क उपलब्ध गराउन पाउँदा आफूहरु खुसी रहेको रिसोर्ट सन्चालकले बताएका छन् ।

नगरपालिकाले क्वारेन्टाइन सन्चालनका लागि आवश्यक डाक्टर, स्टाफ नर्स, अनमी तथा अन्य कर्मचारीहरु व्यवस्था गरिसकेको जनाएको छ । अब दुई दिनभित्र क्वारेन्टाइन सन्चालन गर्ने स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । निःशुल्क कोठा तथा स्थान उपलब्ध गराएकोमा थाहा नगर प्रमुख लवशेर विष्टले धन्यवाद दिए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०