Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको चित्लाङमा कात्तिक नाच मनाइयो

मकवानपुरको थाहानगर स्थित पर्यटकीय गाउँ चित्लाङमा १५ कात्तिक रातीबाट शुरू भएकाे कात्तिक नाच (कतिपुन्हि प्याख्येँ) सकिएको छ । पाँच सय वर्षअघिबाट सञ्चालनमा आएको यस नाच दशैको कोजाग्रत पूर्णिमाकाे रातदेखि शुरु हुन्छ । नाचको पुर्वसन्ध्यामा स्वच्छन्द भैरवको रथ चित्लाङ माझगाउँमा घुमाएपछि कात्तिक नाच शुरु हुन्छ ।

बेलुका गाउँमा युवाले रथ घुमाएर पूजाआजा गरेपछि नाच तीन रातसम्म सञ्चालन गरिएकाे थियो । परम्परा अनुसार गाउँका मुख्य गुरु रामकृष्ण बलामीको घरमा पूजा गरी ५ वटा देवताको नाच निकालिन्छ । वर्षेनी हुने यो नाचमा गणेश, भैरब बाराही, कुमारी र महालक्ष्मी नचाइन्छ । ‘१२ वर्षमा हुने नाचमा भने पुजाविधि नै  फरक हुन्छ, देउता पनि ९ वटा हुन्छ’– नाच गुरु समेत रहेका बलामीले भने ।

फोटो सौजन्यः निर्मल बलामीदेवताका मुखुन्डो लगाएका बाजाको तालमा पहिलो रातभर माझगाउँस्थित अशोक चैत्य परिसरमा पुगेर देवाताले नृत्य देखाउने गर्छन् । त्यस्तै दोस्रो र तेस्रो रात भने माझगाउँको डबलीमा रहेको खटमा देउताहरु नाच्ने गर्दछन् । १७ कात्तिकको रातसम्म विभिन्न किसिमका ऐतिहासिक तथा पौराणिक कथामा आधारित नाच प्रस्तुत गरी यो नाच देखाइएकाे यो नाच १८ कात्तिक विहान राँगाकाे बलीसहित समापन गरिएकाे श्री स्वच्छन्द भैरब धार्मिक तथा सांस्कृतिक व्यवस्थापन समिति चित्लाङ्ग माझगाउँका सचिव निर्मल बलामीले जानकारी दिए । यसपालि मदनसेन जन्म लीलाको कथामा आधारित नाच प्रदर्शन गरिएको थियो । ‘रात भरी–भरी नाँच प्रस्तुत गरिन्छ,’ स्थानीय लक्षीलाल बलामीले भने,–नाँच हेर्न स्थानीयवासी रातभर जाग्राम बसे । पहिले पहिले त काठमाडौं र ललितपुरबाट पनि जात्रा हेर्न ठूलो संख्यामा आउने गर्थे, यसपाली कोरोनको कारण निकै कम आए ।’

ऐतिहाँसिक नाच राज परिवारसंग सम्बन्धीत छ । राजा चन्द्रसेनले आफ्नो दोस्रो श्रीमतीको कोखबाट जन्मिएको बच्चाको न्वारान गर्ने क्रममा पण्डितले जन्मिएका छोरासँग आँखा जुध्यो भने राजा नेत्रहिन हुने बताएपछि रानी सहित बच्चालाई देश निकाला गरेको नाचमा प्रहशन हुन्छ । नाचकै क्रममा पछि जंगलमा चन्द्रसेन राजा आफ्नो मन्त्रीसहित शिकार खेल्न जाने प्रहशन हुन्छ, शिकार पछ्याउँदै जाँदा आफ्नो टोलीबाट राजा छुट्छन् । शिकार लखेटुदै जाँदा उनको लखेटिएका छोरा (मदनसेन) संग भेट हुन्छ । राजा नेत्र हिन हुन्छन् र, जंगलमा अल्मल्लिन्छन् । र, शिकारका क्रममा रहेका मन्त्रीहरु राजाको खोजीमा जान्छन् । नेत्रहिन भएका राजाको लखेटिएका रानीसहित छोरासंग जम्काभेट हुन्छ । राजाले आँखा नदेख्ने कुरा रानीले चाल पाउँछिन् । मन्त्रीसहितको टोलीले राजारानी र छोराहरुलाई समेत भेट्छन् । र, मन्त्रीहरुले पनि थाहा पाउँछन् कि राजा नेत्रहिन छन् । सबैजना घर फर्कन्छन् । गुल बकावली फुलले आँखा सफा गरेपछि पुनः आँखा देख्न सक्ने पण्डितले बताएपछि उक्त फुल खोज्ने क्रममा लखेटिएका बच्चा (राजाको छोरा मदनसेन) सँग रहेको फुल खोस्ने क्रममा राजाको पहिलो श्रीमती र दोस्रो श्रीमतीको छोराहरूबीच झगडा परेको प्रहशन नाचकै क्रममा देख्न पाइन्छ ।  अन्ततः लखेटिएका छोरा (मदनसेन) कै हातबाट राजाको आँखा गुल बकावली फुलले सफा गरेपछि आँखा देख्न सक्ने हुने नाचको कथावस्तुमा छ । यि कथावस्तुमा आधारित प्रहशनसहितको नाच लगायत कवं (कंकाल), ख्याक, बाथः, शिकारी, बनियाँ को नाचको समेत आकर्षण रहने श्री स्वच्छन्द भैरब धार्मिक तथा सांस्कृतिक व्यवस्थापन समिति चित्लाङ माझगाउँका सचिव बलामीले बताए । 

वर्षेनी प्रदर्शन हुने ऐतिहाँसिक नाचमा चित्लाङका नेवार समुदाय मात्र होइन, बज्रबारही, मार्खु, कुलेखानीलगायत क्षेत्रका बासिन्दा रातभर जात्रामा बस्छन् । वृद्धदेखि बालकसम्म जात्रामा सहभागी हुन्छन् । जात्रामा पुरुषको भन्दा महिला संख्या अधिक रहने गरेको छ । त्यसो त यसपालि भने उक्त संख्यामा कमी आएको थाहा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष परशुराम श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले यसपालि सामान्य ढंगले पुजाआजा गरी मनाउन अनुरोध गरेका थिए। स्थानीय लक्षीलाल बलामीका अनुसार नाचका क्रममा हुने कृष्णलीला ५ सय वर्षदेखि यहाँ सञ्चालन भइरहेको छ । ऐतिहाँसिक नाचको संरक्षण तथा प्रवद्र्धनका लागि वडा कार्यालयले पनि सहयोग गर्ने   गरेको अध्यक्ष श्रेष्ठले बताए ।  वडाअध्यक्ष श्रेष्ठ भन्छन्–‘साँस्कृतिक नाचले चित्लाङको पर्यटन प्रवद्र्धनमा समेत बल पुग्छ,  गएको वर्ष ६० हजार रुपियाँ सहयोग गरे, यस वर्ष नि धेरथोर सहयोग गर्छु ।’



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०