Friday, 21st August, 2026
वि.स.

थाहानगरको ऋषेश्वरमा भव्य हुँदै ठूलो एकादशी मेला

Rissssssssss-1542591504.jpg

मकवानपुरको थाहानगर दामन स्थित ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशी पर्वका अवसरमा भव्य मेला लागेको छ । मेलामा थाहा नगरपालिका लगायत मकवानपुर, धादिङ, चितवान, काठमाण्डौ, बारा, पर्सा, काभ्रे तथा तिब्बतबाट समेत हजारौंको संख्यामा श्रद्धालु भक्तजन र मेला भर्न आएका थिए । 

मन्दिरमा परिसरमा बाबयिोको डोरीमा फूलपाती राखेर ‘फुल तार्ने’ प्रचलन समेत रहेको छ ।  ऋषेश्वर महादेवको दर्शन गरे मनले चिताएको कुरा पुरा हुने र छोरा मागे पाइन्छ भन्ने विश्वास छ । पहराको बीचमा महादेबले त्रिशुल घोप्दा पानी निस्किएको किम्बदन्ती छ । हिन्दुहरुको आराध्यादेव ऋषेश्वर महादेव  तथा वौद्ध समुदायको आस्थावान गुरु रिम्पोक्षेले तपस्या गरेको स्थान पनि यही स्थानमा पर्छ । यहाँ  हिन्दु र वौद्ध दुबै समुदायका भक्तजन सहभागी हुने गरेका छन् ।

कस्तो छ ऋषेश्वर परिसर ?

मकवानपुर थाहानगर दामनस्थित चर्चित मन्दिर ऋषेश्वर महादेव मन्दिर प्राकृतिक छटाले भरिपूर्ण, विभिन्न हिमशृङखलाको सुन्दर दृश्य अवलोकन गर्न सकिने, स्वदेशी तथा विदेशी पर्यटकको शान्त पर्यटन स्थल हो । २२५० मिटरको उंचाइमा रहेको दामन भौगोलिक तथा सांस्कृतिकरूपले सांच्चिकै प्रकृतिको सुन्दर उपहार हो। चारैतिर हरियो वन, अनि त्यहांबाट देखिने सुन्दर दृश्यहरू सूर्योदय र सूर्यास्त, डाँडाकांडाबाट हामफालेको कुहिरोको मुस्लो, अनि पहाडका कुनाकुनाबाट निस्केका कञ्चन पानीको छन्छन्ले जो कोहीको चिन्तापीर केही बेर हटाइदिन्छ । 

बाह्रौ महिना जाडो हुने यो ठाउँ धार्मिक तथा ऐतिहासिकरूपले पनि महत्वपूर्ण मानिन्छ । मकवानपुरको उत्तरी क्षेत्र मानिने दामनमा, आस्थावानहरूको आस्थाकेन्द्र श्री ऋषेश्वर महादेवको चर्चित मन्दिर अवस्थित छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने यो मन्दिर सडक खण्डबाट पौने घण्टाको पैदलयात्रा पछि पुग्न सकिन्छ। उक्त बाटो अलि कठिन हुनुका साथै उकालो पनि छ ।

मन्दिरबारे पौराणिक धेरै किंवदन्तीहरू छन्। यसबारे कसैको के भनाइ छ भने–भगवान शिवलाई होहल्ला भएको ठाउं मन नपर्ने हुंदास यो सुनसान, कसैले नदेख्ने प्रदूषणरहित ठाउँ मन परेकोले त्यो डांडाको ढुङगामा आइबसेका र एकजना पण्डितले सो कुरा थाहा पाई श्री ऋषेश्वर महादेवको नाम दिई मन्दिर स्थापना गरे । ती पण्डितले उक्त ढुङगामा स्थापित भगवानलाई सुनको मुकुट लगाइदिएका थिए र एकजना लोभी मान्छेले उक्त मुकुट चोर्न खोज्दा अन्धो भएको लोकोक्ति छ। पाप गर्न खोज्दा श्री ऋषेश्वर महादेवले उक्त व्यक्तिलाई सजाइदिएका हुन् भन्ने किंवदन्ती चलेको पाइन्छ। 

आफूले आँटेतोकेको काम सम्पन्न होस् भनी भाकल गर्न स्थानीय, स्वदेशी तथा विदेशी पर्यटकहरूको सो मन्दिरमा दैनिक घुँंचो लाग्ने गर्दछ । मागेको कुरा पूरा पनि हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ । प्रत्येक वर्ष ठूलो एकादशी, फागु पूर्णीमा, शिवरात्रिको दिन यहां ठूलो मेला लाग्ने गर्दछ। उक्त मेला भर्न स्थानीय तथा देशविदेशका हिन्दू तथा बुद्ध धर्मावलम्बीहरू आउने गर्दछन् । उक्त मन्दिर वरपर धार्मिक उद्देश्य मात्र नभएर, मनोरञ्जनका लागि मानिसहरू साथी, परिवारका साथ आउने गर्दछन् । मन्दिर नजिक एउटा पानीको शुद्ध कुण्ड छ। जुन कुण्डको पानीले सबैको अपवित्रता हटाउंछ भन्ने धार्मिक विश्वास रहिआएको छ। उक्त कुण्डबाट दूधजस्तै पानी निस्कने गरेको स्थानीय बासिन्दा बताउंछन्।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif