Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

टिष्टुङ पहिचानका लागि पूर्व जनप्रतिनीधि अष्टमानको शालिक

प्रतिनिधीसभा सांसद बिरोध खतिवडाले टिष्टुङमा स्वर्गीय अष्टमान बल तत्कालिन अवस्थामा शहीदका सपना साकार पार्न हिँडेका एक सक्षम व्यक्ति भएको बताएका छन् । स्वर्गीय बलको स्मृति दिवशको अवसरमा थाहा नगरपालिका वडा नम्बर ११ मा आयोजित कार्यक्रमका प्रमुख अतिथि तथा नेकपाका केन्द्रीय सदस्य खतिवडाले अष्टमान बलले नै दुर्गम स्थानमा परिवर्तनका लागि आधार खडा गरेकाले अहिलेको विकास संभव भएको बताए । मकवानपुर थाहा नगरपालिकाको ११ र १२ नम्मर वडा कार्यालयले टिष्टुङ पहिचानका रुपमा संयुक्त रुपमा आयोजना गरेको बलको अर्धकदको शालिक अनावरण कार्यक्रममा नेकपा नेता खतिवडाले यस्तो बताएका हुन् । बल मकवानपुरको सुदुर उत्तरमा पर्ने साविक टिष्टुङ गाविसका जनप्रतिनीधि हुन् ।

उनले राजनीतिक प्रसंग कोट्याँउदै नेकपाले अहिले पाएको जस्तो जनमत इतिहासमा कहिल्यै नआउने बताए ।  ‘इतिहासमा अवसर भन्ने कुरा एकफेर आँउछ,  पटक पटक आँउदैन, त्यसलाई अधिकतम ढंगले जनताको पक्षमा उपयोग गर्न जान्नुपर्छ ।’ जनपक्षीय प्रधानपञ्च तथा तत्कालिन टिष्टुङ गाँउ विकास समितिका अध्यक्ष स्वर्गीय अष्टमान बलको शालिक अनावरण गर्दै नेता खतिवडाले भने,–‘पार्टी केही होइन,  आफु मात्र सर्वेसर्वा हो भन्ने ठानियो र त्यसरी काम गरियो भने पश्चिम बंगालको हालत हुन्छ ।’

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले थोरै स्रोत र साधनका बीच पनि जनतालाई सेवा दिन आफुहरु तत्पर रहेको तरपनि जस पाउन नसकेको गुनासो गरे ।  प्रमुख विष्टले अष्टमान बल अन्याय र अत्याचारविरुद्ध लड्ने एक योद्धा हुनुका साथै उनका अगाडि कुनै जाली–पटाहहरु टिक्न नसक्ने अवस्था रहेको स्मरण गरे । 

कार्यक्रममा इन्द्रसरोवर गाँउपालिकाका अध्यक्ष जीवन लामाले स्वर्गीय अष्टमान बल उतिबेलै सुमुदायमा जागरण ल्याउन पहल गर्ने जनप्रीय नेता भएको दावी गरे । अध्यक्ष लामाले स्वर्गीय बलले देखाएको बाटोमा आफ्नो छिमेकी थाहा नगरपालिका हिँडेकोमा खुसी व्यक्ति गर्दै इतिहासको स्मरणको लागि शालिक अनावरण कार्य महान कार्य भएको ठोकुवा गरे ।

कार्यक्रममा नेपाल लोकतान्त्रक आदिवासी जनाजाती महासंघका पुर्व केन्द्रीय सचिव तथा नेकपा मकवानपुर सचिवालय सदस्य रामचन्द्र बलले स्वर्गीय बलले देखाएको बाटोकौ कारण आज टिस्टुङ क्षेत्रको काँचुली फेरिएको बताए । कार्यक्रममा नेकपाका  प्रदेश कमिटी सदस्य महेश्वर सुबेदी, प्रदेश सचिवालय सदस्य बिष्णु विष्ट, नेपाल तामाङ घेदुङ बाग्मती प्रदेश समितिका अध्यक्ष कुमार घलान, बाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य सुवास लामा लगायतले स्वर्गीय बलको योगदानबारे चर्चा गरेका थिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष तथा थाहा–६ निवासी शन्तराम बिडारी, नेकपा थाहानगर सचिव सानुकाजी गोपाली, इन्द्रसरोवर गाँउपालिका कमिटी अध्यक्ष ऋषि पुडासैनी, नेकपा मकवानपुर जिल्ला कमिटी सदस्य कल्याण विक्रम घलान, थाहानगर सचिवालय सदस्य अच्युतमप्रसाद ढकाल, विमल प्रसाद ढकाल तथा जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा गाविसका पुर्व अध्यक्ष तथा स्वर्गीय अष्टमानका सहयात्री अशोककुमार लामाले आफ्ना तत्कालिन सहकार्यहरुको स्मरण गरेका थिए । थाहा–१२ का वडाअध्यक्ष मानबहादुर स्याङ्तानको स्वागत मन्तव्यमा भएको कार्यक्रमको अध्यक्षता थाहा–११ का वडा अध्यक्ष तथा स्वर्गीय बलका सुपुत्र किरणमान बलले गरेका थिए ।  कार्यक्रममा शिक्षक ज्ञानचन्द्र शिकारी र मुर्तीकार मानबहादुर बललाई सम्मान गरिएको थियो । शिक्षक शिकारीले स्वर्गीय बलको चिनारी प्रस्तुत गरेका थए । 

को हुन् अष्टमान बल ?

विक्रम संवत २००२ साल पुस १४ गते जन्मिएका अष्टमान बल २०४३ देखि २०४६ तत्कालिन टिष्टुङ पञ्चायतको जनपक्षीय प्रधानपञ्च भएका थिए । बहुदल स्थापना पछि २०४९ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित भएका थिए । 

नेपाल तामाङ घेदुङ मकवानपुरका संस्थापक अध्यक्ष समेत रहेका बल आठ वर्ष भारतीय सेनामा काम गरेर आएकाले गाँउमा ‘लाहुरे’ उपनामबाट समेत चिनिनुहुन्थ्यो । स्पष्टवक्त, निडर स्वभाव, अत्याचार विरोधी र विकासको अभियानकर्मीका रुपमा उनले सामाजिक कामहरुमा आफुलाई संलग्न गराए । वि.सं. २०४३ सालमा तत्कालिन साना किसान विकास आयोजना कार्यक्रम अन्तर्गत ठाडोखोलामा कुटानी पिसानीको मिल स्थापना गरेका थिए । 

जहाँ तोरी समेत पेलिने भएकाले तत्कालिन अवस्थामा धेरै जिल्लाबाट मानिसहरु ठाडोखोला आँउथे । पछि मिल स्थापना भएकाले सो ठाँउको नाम नै मेलखोला कायम भएको थियो । उनी तत्कालिन वागेश्वरी प्राविको व्यस्थापन समितिको अध्यक्ष भएर सो ठाँउमा शिक्षाको जग बसाल्न प्रयत्नशिल भए ।

उहाँका घरमा त्यतीबेला मोहनचन्द्र अधिकारी, सिपी मैनाली, सिद्धीलाल सिंह लगायतका भुमीगत नेताहरु पार्टी प्रशिक्षण दिनका लागि समेत आउने समेत गर्थे । अहिले उनै बलका छोरा किरणमान बल थाहा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष छन् । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०