nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

चेपाङ मोटरबाटो बन्दै 

मकवानपुरको राक्सिराङ गाविसका चेपाङ गाउँहरुमा मोटरबाटो पु¥याउनका लागि स्थानीय चेपाङ समुदायले अगुवाई गरेका छन् । राक्सिराङ गाविसको वडा नं ८ स्थित जिर्खीडाँडा, सानो लापुर हुँदै गाविसको कार्यालयसम्म जोड्ने गरी मोटरबाटो निर्माण कार्य थालिएको समाजसेवी बिष्णुराम प्रजाले बताए । निर्माणाधीन बाटो हालसम्म १ किलोमिटर ट्रयाक ओपन गरिसकिएको छ । उनका अनुसार काठमाडौँको इसीएफ नेपालले आर्थिक सहयोग गरेपछि मोटरबाटो निर्माणमा चेपाङले सहभागिता जनाएका हुन् । मोटरबाटो निर्माणका लागि चन्द्रसिंह चेपाङको अध्यक्षतामा मोटरबाटो निर्माण उपभोक्ता समिति गठन भई धमाधम काम भइरहेको छ । 

‘बर्षाैदेखि पैदलबाटो भएर पुग्नुपर्ने गाउँहरुमा हिँड्नका लागि सजिलो र ढुवानीका लागि समेत सुविधा पुग्ने भएकाले मोटरबाटो निर्माण थालिएको समाजसेवी बिष्णुरामले बताए । यसका लागि गाविसको सिफारिस माग गरी संघसंस्थाहरुसँग योजना माग गर्दा इसीएफ नेपालका अध्यक्ष सुन्दर थापाले चेपाङको मर्म बुझेको र सहयोग गरेको उनको भनाई छ । 

थापाकै अगुवाईमा यसअघि मनहरी ४ मा निर्माणाधीन चेपाङ छात्राबासका लागि २ कट्ठा जग्गा नेपाल सरकारको नाउँमा दिइएको छ । त्यसैगरी सोही स्थानमा प्रतिघरपरिवार १० धूरका दरले १६ परिवार चेपाङलाई बसोबासका व्यवस्थाका लागि जग्गा उपलब्ध गराइएको बिष्णुरामले बताए । 

राक्सिराङकै ८ नं  वडास्थित जिर्खीडाँडा पुग्ने बिजुली बिस्तारका लागि पनि ट्रान्सफर्मर खरिदका लागि संस्थाको तर्फबाट ३ लाख रुपियाँ लगानी गरिदिने आश्वासन थापाबाट पाएको समाजसेवी बिष्णुरामले जानकारी दिए । आशिष चर्च सामाखुसीका पास्टर समेत रहेका थापाको अगुवाईमा मकवानपुरका चेपाङ बस्तीहरुलाई लक्षित गरी विभिन्न विकास निर्माणका कामहरु हुँदै आइरहेको छ ।