Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एम्बुलेन्सबाट धनमाल लुटपाट गरेको अभियोगमा ३ जना पक्राउ

काठमाडौंबाट मकवानपुरतर्फ अाउँदै गरेको प्रदेश ३-०१-२३ च-११०९ नम्बरको एम्बुलेन्सबाट धनमाल लुटपाट गरेको अभियोगमा ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं चन्द्रागिरि नगरपालिका-४ बस्ने २४ वर्षीय सरोज कामी (वि.सी.), ३१ वर्षीय राम भगत शाही र २७ वर्षीय शिव शाही रहेका छन् ।

चन्द्रागिरि नगरपालिका-४ पानीघाटस्थित जंगलमा उनीहरुले उक्त एम्बुलेन्स जबरजस्ती रोकी चालकसँग रहेको धनमाल लुटपाट गरेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै निजहरूले गणेशमान मार्गमा पर्ने चित्लाङ सडकमा तरकारी ढुवानी गर्ने बा.४ ख ९९० नम्बर तथा ग.१च ७६३३ नम्बरको गाडीमा सवार चालकहरूलाई समेत आफूहरू सादा पोशाकका प्रहरी हुँ भनी कुटपिट तथा लुटपाट गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुको साथबाट घटनामा प्रयोग भएको प्रदेश ३-०२-००३ प ४७७७ र बा.७१ प ६९४५ नम्बरका २ मोटरसाइकल, लुटपाट गरेको नगद ३३ हजार ८ सय ९५ रुपैयाँ र मोबाइल ६ थान प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिहरू उपर चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०