Wednesday, 1st July, 2026
वि.स.

इन्द्रसरोवरमा अनुदान शिक्षक प्रभावकारी बन्दै

सरकारी विद्यालयहरुको जल्दो–बल्दो समस्याको रुपमा रहेको दरबन्दी नपुगले नीजि स्रोतबाट शिक्षक आपूर्ती गर्नु हो । जसले गर्दा अधिकांश सरकारी विद्यालयहरुको नियमित पठनपाठनमा अवरोध खडा भएको पाइन्छ ।  
नेपाल सरकारले निर्धारण गरेको दरबन्दी अपर्याप्त हुँदा शिक्षक अभावमा विद्यालयको शैक्षिक गुणस्तर खस्किनु त छँदै छ भविष्यका कर्णाधार मानिएका बालबालिका तथा विद्यार्थीहरुको भविष्य माथि नै खेलवाड हुन पुग्दछ । यस्तो समस्यालाई मध्यनजर गर्दै उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले यस शैक्षिक सत्र देखि नयाँ योजना कार्यान्वयनमा ल्याएको छ ।            
गाउँपालिकाले गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयमा यसै शैक्षिक सत्र देखि लागु हुने गरि दरबन्दी नपुगेको सम्पुर्ण बिद्यालयमा शिक्षक अनुदान दिएको छ । गाउँपालिकाको बजेटबाट नै तलब दिने गरि गाउँपालिका भित्र रहेका ७ वटा विद्यालयमा शिक्षक अनुदान स्वरुप रकम प्रदान गरिएको हो ।
इन्द्रसरोवर गाउँपालिका  वडा नं १ को सत्तेश्वर प्राथमिक विद्यालयलाई १ लाख, वडा नं २ मा रहेको पञ्चकन्या माद्यामिक विद्यालयमा ६ लाख ८० हजार, वडा नं ३ को बत्सलादेवी माद्यामिक विद्याललयमा ५ लाख ५० हजार, वडा नं ४ को कालिका माद्यामिक विद्यालयमा ४ लाख ५० हजार, वडा नं ५ को महाचुनी माद्यामिक विद्यालयमा ५ लाख ५० हजार, वडा नं ५ कै कालिदेवी माद्याामिक विद्यालयमा ४ लाख ३५ हजार र मञ्जु श्री प्राथमिक विद्यालयमा १ लाख रुपैयाको शिक्षक अनुदान दिएको छ ।
सातै वटा विद्यालयमा गरि जम्मा २८ लाख ६५ हजार रुपैँयाको बजेटमा यस शैक्षिक सत्रको लागि नीजि स्रोत शिक्षकहरुलाई दिनुपर्ने आवश्यक खर्च बराबरको रकम हिसाब गरी शिक्षक अनुदान प्रदान गरेको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए । 
ती विद्यालयहरु मध्ये २ वटा विद्यालयमा कक्षा ११ र १२ समेत पढाइ हुने भएकाले त्यसको लागि पनि थप सहयोग पुगेको कारण यो कार्यक्रम प्रभावकारी रहेको उनले बताए । उनका अनुसार उक्त विद्यालयमा बिगतका दिन देखि नै नीजि स्रोतमा काम गर्दै आएरहेको शिक्षकहरुको  लागि यसरी दिइने रकम गाउँपालिकाबाट सिधै विद्यालयमा जान्छ । 
स्थानिय सरकार आइसके पछि शिक्षक अनुदान कार्यक्रम प्रति गाउँपालिका भित्रका विद्यालय, विद्यार्थी, अभिभावक र सर्वसाधारण समेत सकारात्मक रहेको प्रति खुसी व्यक्त गर्दै उनले सरकारले पर्याप्त दरबन्दी व्यवस्थापन नगरे सम्म गाउँपालिकाले शिक्षक अनुदान कार्यलाई निरन्तरता दिइरहने प्रतिबद्धता समेत व्यक्त गरे । 
विद्यालयमा विगतका दिनमा विद्यार्थीबाट उठाएको रकमले मात्र नीजि शिक्षकहरुलाई तलब दिन सकिने कुरा स्मरण गर्दै इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष तथा महाचुनी मा. वि.का व्यवस्थापन समितिका अध्यक्ष धनराज महर्जनले यस कार्य विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पर्याप्त नभएपनि विद्यालयहरुले विद्यार्थीसँग शिक्षकको तलबकै लागि भनेर शुल्क उठाउन नपर्ने भएकोले विद्यार्थी र अभिभावकलाई पर्ने आर्थिक भार समेत कम भएको बताए । 

यसरी शिक्षक अनुदान पाएका इन्द्रसरोवर गाउँपालिका वडा नं ४ का श्री कालिका माद्यामिक विद्यालयका व्यवस्थापन ससमितिका अध्यक्ष तथा वडा नं ४ का वडा अध्यक्ष धनविर स्याङ्तान  भन्छन् “यो कार्य अत्यन्तै प्रभावकारी भएको छ । किनभने गाउँले सँग पैसा उठाएर, देउसी भैलो खेलेर, विद्यार्थी सँग सहयोग शुल्क भनेर शिक्षक पाल्नु पर्ने अवस्थामा गाउँपालिकाको थोरै सहयोगले पनि सुधार भएको छ ।” 
उनका अनुसार उक्त अनुदान पर्याप्त नभए पनि केहि हद सम्म सहयोग पुगेको बताए । उक्त विद्यालयले यसै शैक्षिक सत्र देखि कक्षा ८ सम्म पुरै निशुल्क रुपमा पढाइ सुरु गरेको छ । विभिन्न संघसंस्थाहरु सँगको सहकार्य र समन्वयमा प्राप्त सहयोगबाट विद्यालयको शैक्षिक गुणस्तर बढाउन देखि विद्यार्थी संख्या बढाउन समेत टेवा पुगेको उनको भनाइ रहेको छ ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।