Sunday, 16th August, 2026
वि.स.

आज गाई तिहार लक्ष्मी पूजा

Cow-1477788910.jpg

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी गाई तिहार मनाइँदैछ। आजैको दिन साँझ घरघरमा लक्ष्मी पूजा गर्ने गरिन्छ ।  
 गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मानसमेत गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरिसकेको छ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक बिश्वास समेत रही आएको छ।

यसैबीच प्रत्येक नेपालीले आज गाईको गोबरले घर लिपपोत गरी चिखो निधो गर्दछन् र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक घरघरमा लक्ष्मी भित्र्याउँछन् । लक्ष्मी धनकी देवी हुन् । आजका दिन रूपैयाँ, पैसा र अन्य धनदौलतको पूजा गर्नाले धन सम्पत्तिको कहिल्यै दुःख हुँदैन भन्ने जनश्रुति पाइन्छ । सत्ययुगमा वामन अवतार विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलीले भगवान्लाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गरेको कुरा पुराणमा पाइन्छ ।
जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरून् भत्रे वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक विश्वासका आधारमा आजका दिन सम्पूर्ण नेपालीले धनकी देवी लक्ष्मीको पूजा दीपावली गरेर गर्ने परम्परा बस्दै आएको हो । दीपावली नगरेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज समस्त नेपालीेले आ–आफ्नो घर तथा करेसा सफासुग्घर गरी दैलो, सँघार, झ्याल, ढोका, कौसी, अटाली, भ(याङ लगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गर्दैछन् । आजको रातलाई सुखरात्रि पनि भत्रे गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पिठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।
आजका दिन उद्योगपति तथा व्यापारी एवम् घरका गृहिणीहरूले साँझ दीपावली गरिसकेपछि आफ्नो धन कोठामा लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्ने गर्दछन् ।

आजकै दिन लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी कन्या केटीहरूको पूजा गर्ने चलन पनि छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने विश्वास छ । आज साँझ कन्याहरू विभिन्न समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०