Tuesday, 1st September, 2026
वि.स.

अब बाइराेडमा 'वान वे' ठूला सवारी मात्र (सूचनासहित)

IMG_20260831_185102-1788182253.jpg

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा हुँदै संघीय राजधानी काठमाडौंतर्फ जाने सवारी साधनको अत्यधिक चापलाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले ट्राफिक व्यवस्थापन सम्बन्धी नयाँ नियम लागू गरेको छ।

​विगत केही दिनको ट्राफिक अवस्था, वैकल्पिक सडकहरूको क्षमता तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै १६ भदाैदेखि लागू हुने गरी विभिन्न रुट तथा समयसीमा तोकिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

​जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार यसरी सवारी आवागमन व्यवस्थापन गरिएको छ:

ठूला तथा मालवाहक सवारी साधन: १० चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधनहरू त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ जाने र कान्ति राजमार्ग हुँदै फर्कने व्यवस्था गरिएको छ। साथै, मौसम र सडक सुरक्षाका कारण कान्ति राजमार्ग भएर हेटौंडातर्फ आउने यात्रुवाहक सवारी साधनहरूले साँझ ६:०० बजेभित्र अनिवार्य रूपमा इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोष्ट पार गरिसक्नुपर्नेछ।

साना यात्रुवाहक सवारी साधन (१४ सिटभन्दा कम): हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदीको सडक प्रयोग गर्नुपर्नेछ भने काठमाडौंतर्फ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक प्रयोग गर्नुपर्नेछ।

त्रिखण्डी बेलिब्रिजमा भार नियन्त्रण: मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर भएकाले इन्धन तथा भारी मालवाहक सवारी साधनहरूलाई उक्त पुल प्रयोग नगरी नजिकैको डाइभर्सन प्रयोग गर्न निर्देशन दिइएको छ।

​विपद्जन्य जोखिमको समय रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, सडकमा धैर्य एवं अनुशासनपूर्वक लेन पालना गर्न, ओभरटेक नगर्न तथा ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गरी आवागमनलाई सहज बनाउन प्रशासनले सम्पूर्ण सवारी चालक, यातायात व्यवसायी तथा यात्रुहरूमा अनुरोध गरेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif