Thursday, 2nd July, 2026
वि.स.

अझै टहरामै: ४५ महिना बित्यो, भूकम्पले ढलेको स्कूल बनेन

भूकम्पले भत्किएका विद्यालय भवन पुनःनिर्माण हुन नसक्दा विद्यार्थी अस्थायी सिकाइ केन्द्र (टहरा) मै पढ्न बाध्य छन् । १२ वैशाख, २०७२ को भूकम्पले थाहा नगरपालिका वडा नं. १ मा पर्ने टाहाखेलकी दिपशिखा थोकर पढ्ने पञ्चकन्या प्रा.वि.को ६ कोठे भवन पूर्ण क्षति भयो । ‘टहरा निर्माणको लागी तत्कालिन जिल्ला शिक्षा कार्यालय मकवानपुरले १ लाख २५ हजार त दिएको थियो तर प्रयाप्त भएन, गुहार मागेरै टहरा बनायौं’–प्रधानाध्यापक रमेश कुमार लामाले बताए । विद्यालयको पुरानो भत्किएको भवन छेवैमा टहरो बनाएर बालबालिकालाई पढाउने गरिएको छ । टीनले छाएको, टीनले नै बेरेको टहरामा दिपशिखाले पढ्न थालेको ४५ महिना लाग्यो ।

टहरामै बसेर अध्ययन गर्दै पञ्चकन्या प्रा.वि थाहा–१ का बालबालिकाहरु । फोटोः मञ्जरी बलामी/विकासखबर

‘घरमा नि गाह्रो छ’ दिपशिखाले भनिन्–‘स्कूलमा नि अप्ठेरो छ।’ ‘घाम चर्किंदा गर्मी हुन्छ, पानी पर्दा बाछिटा आउँछ, हावाले सताउँछ, आजाभोलि सिरेटोले कठ्याङ्रिन्छौं’–उनले टहरोको अप्ठेरो सुनाइन् । टहरो बाटो नजिकै हुँदा विद्यार्थीलाई झन् असहज हुन्छ। गाडी तल–माथि गर्दा शिक्षकले बोलेको बुझदैनन्। शौचालय त छ, पानी छैन । भूकम्पले खानेपानीको मुहान सुकेपछि विद्यालयमा बोकेरै खानेपानी पु¥याउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक लामाले बताए । बालबालिकाहरु कतिपयले त पानी बोकेरै आउँछन, नआए विद्यालयकी सहयोगीले मूलबाट ल्याएर खुवाउने       गरेको प्रधानाध्यपक लामाको भनाइ छ ।  

वि.सं. २०३५ सालमा स्थापना भएको उक्त विद्यालयमा शुरुमा २ कक्षासम्म मात्र पढाइ हुने भएपनि वि.सं. २०४५ सालबाट ५ कक्षासम्म अध्यापन हुन थालेको हो । विद्यालयमा १५ छात्रासहित ३२ विद्यार्थी अध्ययनरत् छन् । जिल्ला शिक्षा कार्यालय, मकवानपुरको सहयोगमा काठको डाँडाभाटा ठोकेर टीनले बेरेर पाँचकोठे टहरा बनाइएको छ । विद्यालय निर्माणका लागि स्रोतको खोजी नगरिएको भने होइन । विद्यालयका प्रधानाध्यापक लामा यसका लागि थुप्रै दाता गुहार्न पुगे विद्यालयमा कसैको आँखा पुगेन । ‘हामी भोटर हौ, कसैको साथ लागेर हिडेनौ त्यसैले पनि सहयोग नपाएको पो होकि ?’–उनले दुःख व्यक्त गरे ।

विद्यालय भवनको निर्माणका लागी पुनःनिर्माण प्राधिकरणलगायतका निकायहरुमा सिफारिस गरेपनि कतैबाट पनि सहयोग नपाएको थाहा नगरपालिका १ नम्बर वडा अध्यक्ष हेरमान गोपाली बताउँछन् । विद्यालयको सेवा क्षेत्र कम भएकै कारण पहल गर्नेहरु पनि नभएकाले विद्यालयको अवस्था ओझेलमा परेको प्रधानाध्यापक लामाले बताए । अधिकांश दलित र जनजाति बालबालिका अध्यन गर्ने सो विद्यालयमा ३ जना शिक्षक रहेका छन् भने विद्यालयको सम्पुर्ण पढाइ निः शुल्क रहेको छ । टहरामा जाडोले पठनपाठन गर्न समस्या भएपछि आफ्ना  छोराछोरीलाई नियमित विद्यालय पठाउन नसकिएको अभिभावकहरु गुनासो गर्छन् ।

विद्यार्थी घटेपछि ‘मर्ज प्रस्ताव’

थाहा नगरपालिका शिक्षा शाखा प्रमुख लक्ष्मण दाहाल थाहा–१ को पञ्चकन्या प्राविलाई मर्जको प्रस्ताव गरिएको बताए । भूकम्प गएलगतै विद्यार्थी संख्या घटेको पञ्चकन्यामा टहरामा बसेर पढ्ने विद्यार्थी घटेपनि मर्जका लागि प्रस्ताव गरिएको दाहाले प्रतिक्रिया दिए । उनका अनुसार पहिलो चरणको मर्ज कार्य सकिए पछि त्यसको लागी प्रक्रिया अगाडि बढ्ने छ ।

थाहा नगरपालिकाले हाल नगर भित्र भएका विद्यालयहरुलाई मर्ज अर्थात गाभ्ने प्रक्रिया अगाडि बढाई रहेको छ ।  विद्यालयको अवस्था हेरी विभिन्न सुचकमा रहेर संचालनको समस्या भोगिरहेका विद्यालयहरुलाई पायक पर्ने नजिकको विद्यालयसंग गाभ्ने र पठनपाठन संचालन गर्ने कार्यमा थाहानगर शिक्षा शाखा र शिक्षा समिती अघि बढिरहेको दाहालको भनाइ छ । थाहा नगरपालिका क्षेत्रमा अहिले ५३ सामुदायिक विद्यालय संचालनमा रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।