Saturday, 18th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

२८ कात्तिकदेखि चन्द्रागिरी सडक बन्द हुने, २६ कात्तिकदेखि निर्माण कार्य पुनः शुरु हुने

chandragiri-copy-1636449277.jpg

गत दशैंअघिबाट सुचारु गरिएको चित्लाङ–थानकोट सडक आगामी २८ कात्तिकदेखि पूर्णरुपमा बन्द हुने भएको छ । मुख्य चाडबाड सकिएलगत्तै अब निर्माणको काम अघि बढ्ने भएकोले अर्को सूचना नभएसम्मका लागि सवारी आवागमन पूर्णरुपमा बन्द गर्न लागिएको चित्लाङ–चन्द्रागिरी–थानकोट सडक निर्माण सरोकार समितिले जनाएको छ । 

रामशरण नेपालको अध्यक्षता र संविधान सभा सदस्य सुभाषचन्द्र ठकुरीको उपस्थितिमा २२ कात्तिकमा बसेको सरोकार समितिको विस्तारित बैठकले २६ कात्तिकबाट सडक निर्माणको काम पुनः शुरु गर्ने र २८ कात्तिकबाट पूर्णरुपमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । ‘कैलाश, थाहा र इन्द्रसरोबरका बासिन्दालाई काठमाण्डौं आउजाउ गर्न बाटो क्लियर छ, तर सडक निर्माण जारी रहँदा जोखिम हुने भएकोले बन्द गर्ने निर्णय गरिएको हो’ सडक निर्माणका अभियन्ता बुद्धरत्न मानन्धरले भने ।

चित्लाङ थानकोट सडकअन्तर्गत् थानकोट–चन्द्रागिरी खण्डको ठेक्काको म्याद आगामी चैतबाट सकिने हुँदा तोकिएको म्यादभित्र तोकिएका काम सक्नु निर्माण पक्षमाथि दवाव छ । ‘जनताको माग पनि छिटो भन्दा छिटो बाटो बनोस् भन्ने छ, त्यही भएर चाडबाड सकिएलगत्तै काम शुरु गर्न लागेका हौँ’ समितिका सदस्य रामशरण नेपालले थाहाटाइम्ससित भने ।

सडक निर्माण सरोकार समितिका अनुसार थानकोटबाट २५०० मिटरदेखि ८२५० मिटरसम्मको सडकको ‘ट्रयाक क्लियर’ भइसकेको ।  यो खण्डको पानीघाट घुम्तीमा रेडियस र ग्रेड मिलाउने कामबाट अघि बढेको समितिले ३१६० मिटर सडकमा मेशिनरी वाल उठाउने, ३४२० मिटर सडकसम्म डाउन गर्ने, ३५८० मिटर सडकसम्म २ मिटर माटो भर्ने, ३७८० मिटरसम्म ढिस्को काट्ने, पहिरो हटाउने, खोल्छीको मोडलाई २५ मिटरको रेडियसमा घुमाउने लगायतको काम भएका छन् । त्यस्तै डोजर झरेको मोडमा रक कटिङ गर्नेदेखि कतिपय मोडलाई ३० मिटरसम्म पर धकेलिएको छ भने सेतो पहरालाई समेत छिचोल्न सफल भएको छ । 

सडक निर्माणका मुख्य अभियन्ता सुभाषचन्द्र ठकुरीका अनुसार अँधेरी खोल्छामा रक कटिङ गरेर उजेली खोल्छा बनाइएको छ भने ३ वटा अप्ठ्यारा घुम्तीहरुलाई ‘क्यान्सिल’ गरिएको छ । ठकुरीले थानकोटदेखि चन्द्रागिरीसम्म सडक छिचोल्दा यसलाई सामान्य हिसाबले ‘ट्रयाक ओपन’ भनिए पनि त्यो भन्दै धेरै गरिएको बताए । उनले ७९०० मिटर सडकमा २२ मिटर अगाडि अर्को मोड बनाएर ढिस्को कटिङ गरेर नमुना प्राकृतिक वालसमेत निर्माण गरिएको जानकारी दिए । 

ठकुरीका अनुसार अब छाप्रोमाथिको खोल्छीको मोड सुधार गर्नुपर्ने, थुप्रेको माटो फाल्नुपर्ने, डोजर झरेको मोडमा ३ मिटर बाहिर आउनेगरी वाल लगाउनुपर्ने, सबै ठाउँमा १० मिटर हुनेगरी चौडा बनाउनुपर्ने, पश्चिम ६ किलोमिटरको मोडमा ३ मिटर बाहिर वाल लगाउनुपर्ने, अधेरी खोल्छीको बाटो फराकिलो बनाउनुपर्ने, राम्चेको जेड कटिङसम्मको सिङ्गल बाटोलाई डबल बनाउनुपर्ने जस्ता कामहरु गर्नुपर्नेछ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०