nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

१ कात्तिक : बिसिङ्खेलमा अम्बे जात्रा मनाइँदै

थाहा नगरपालिका वडा नम्बर १०  बिसिङ्खेलमा १ कार्तिकमा भव्य रुपमा चम्पाकेश्वर महादेवको जात्रा मनाइदैछ । हरेक वर्ष १ कात्तिकमा हुने जात्रालाई स्थानीयहरु ‘अम्बे’ जात्रा भनेर पनि चिन्दछन् ।  

थाहा १० का  चार गाँउ न्हुँलगाँउ, टौखेल, कलाँटु र अम्बुटोलका बासिन्दाले विधिपूर्वक अम्बे जात्रा मनाउँदै छन् । धार्मिक ग्रन्थ रामायणको पात्र वाणासुरको कथासंग चम्पाकेश्वर महादेवको उत्पत्तिको प्रसंग जोडिएकोले चम्पाकेश्वर महादेवको उत्पत्ति आदि कालमै भएको दाबी छ । गोपाली जातीको बाहुल्यता रहेको यो क्षेत्रमा नाच र जात्रा चलाउन गुठीको ब्यवस्था गरिएको छ ।

यस भेगमा पानी नपरेमा पानी माग्न र गाईवस्तुको रक्षाको लागि चम्पाकेश्वर महादेवलाई पुज्ने बताइन्छ । यस मन्दिरमा पुख्यौँली घर पाटन रहेका राजोपाध्याय  खलकका पुजारी छन् । प्रत्येक वर्ष जात्रामा विशेष पुजाका लागि महादेवलाई जाँड र एकैपटक कुटीएको चिउरा चढाउनु पर्छ । जस लाई स्थानिय वासिन्दा ‘कक बजि’ भन्दछन् ।

बेलुकी काठको लठी ठोकाठोक गरेर टाउकोमा पगरी  र पगरीभरि फुल सिउरेर स्थानीय गोपालीहरुले घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलन रहेको छ । उक्त नाचलाई स्थानिय भाषामा ‘ट्वाक प्याखँ’ भनिन्छ । स्थानिय गोपालवंशी ग्वालाहरुको अत्यन्त श्रद्धाको पर्व चम्पाकेश्वर मेलामा विभिन्न गुठीयारहरुले चार घेम्पो जाँड ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जाँड र ‘कक बजि’ प्रसादको रुपमा खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास रहेको छ ।

किम्बदन्ती अनुसार हालको थानकोटलाई प्राचिन कालमा शोणितपुर भनिन्थ्यो ।  त्यहा राजा बाणासुरले राज्य गर्दथे । एक दिन शिकार खेल्न राजपरिवार र सेनाहरु चन्दागिरी जंगल हुँदै बिसिङ्गखेलको वनमा आइपुगेको स्थानीय बासिन्दा बताउँछन् । उक्त वनको एउटा रुखमा फुलिरहेको चापको फुल राजकुमारीले देखेपछि उनी लोभिएको र उक्त फुल टिपेर ल्याउन अनुरोध गरिएको स्थानिय बुढापाकाहरु बताउँछन्  ।

कथाअनुसार फुलको रुखको फेदबाट हेर्दा फुल देखिने र टुप्पोमा पुग्दा हराउने गरेपछि राजालाई साह्ै रिस उठेछ । त्यसपछि कलाँटु गाँउका काठका काम गर्ने ब्यक्तिहरुलाई बोलाएर उक्त रुख काट्न आदेश दिएछन् । रुख काट्दा रगत आएको र एउटा ज्योतिर्लिङ्ग पैदा भएपछि कलाँटुका गमालहरुले उक्त लिङ्ग आफ्नो गाँउमा लगेर राखेछन् । तर त्यो रात गाँउमा कुखुराको भाले नबासेपछि केहि अनिष्ट भयो भन्ठानेर गाँउलेमा चिन्ता बढेछ ।

क्षमापुजा गरेपछि आकाशवाणी भएर ‘सोझा जाती गोपाली बस्ने टौखेलमा मलाई लगेर राख्न’ भनेपछि अझैपनि जात्राको दिन टौखेलबाट शिवलिङ्ग ल्याउने र जात्रा सकिएपछि फिर्ता लैजाने प्रचलन रहेको स्थानीय हरि गोपालीले बताए । सो चाँपको रुखको ठुटो हालसम्म मन्दिर क्षेत्रमै रहेको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)