Friday, 3rd July, 2026
वि.स.

हत्याको आशंकामा जलाइँदै गरिएको शव बरामद

gh-1611569361.jpg

हत्यापछि सुटुक्क अन्त्येष्टि गर्न लागिएको आशंकामा प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको शव बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि बाराको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको शव बरामद गरिएको हो । बरामद शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको बस्नेतले बताए ।

अनुसन्धानका लागि प्रहरीले चौधरीका श्रीमान ३८ वर्षीय रवि र चल्ली भनेर चिनिने अनु थापालाई पक्राउ गरेको छ । ‘चार दिन अघि मृतकले अनुको मोबाइल चोरेको भन्ने खुलेको छ, त्यसैले उनले अरु दुईरतीन जना महिला लगाएर कुटपिट गरेको पाइएको छ’, बस्नेतले सुनाए, ‘टाउको र आँखामा चोट लागेका उनी त्यसपछि हिँड्न नसकेर त्यहीँ लडेकी रैछिन् ।’

शनिबार त्यहीँ लडिरहेको देखेपछि रवि र अनुले मन्दिरभित्र आश्रममा सुताइदिएको पाइएको प्रहरीले जनाएको छ । तर, त्यसवेलासम्म बबिताको मृत्यु भइसकेको हुनसक्ने आशंका गरिएको छ ।